काठमाडौं । साताको पहिलो कारोबार दिन सोमवार नेप्से परिसूचक १ दशमलव ९१ प्रतिशत घटेर बन्द भएको छ । यससँगै नेप्से २ हजार ६३० दशमलव ९१ विन्दुमा झरेको छ । अघिल्लो कारोबार दिन बिहीवार नेप्से १ दशमलव २३ प्रतिशत घटेको थियो ।
लामो समयदेखि 'साइडवेज'मा रहेको बजार पछिल्लो दुई कारोबार दिनमा ३ दशमलव १४ प्रतिशत घटेको हो ।
कारोबार रकम भने अघिल्लो कारोवार दिनको तुलनामा केही घटेको छ । अघिल्लो कारोबार दिन रू. ६ अर्ब १४ करोड बरावरको कारोबार भएकोमा आज रू. ५ अर्ब ९३ करोड बराबरको कारोबार भएको हो ।
यस दिन सेन्सेटिभ इन्डेक्स १ दशमलव ५१ प्रतिशत, फ्लोट इन्डेक्स १ दशमलव ८४ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशमलव ५८ प्रतिशत घटेको छ ।
आज ३०४ धितोपत्रको १ करोड २७ लाख ४५ हजार ७७७ कित्ता शेयर ६७ हजार ६४८ पटकमा रू. ५ अर्ब ९३ करोड बराबरको कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ३ हजार ३ सय पुगेको छ । त्यस्तै जोशी हाइड्रोपावरको शेयर मूल्य ९ दशमलव ४० प्रतिशत बढेर रू. ४५२ दशमलव ९० कायम भएको छ ।
सोमवार जानकी फाइनान्सका शेयरधनीले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज ९ दशमलव ५८ प्रतिशत घटेको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ८०१ मा झरेको छ । त्यस्तै नेपाल फाइनान्सको शेयर मूल्य ७ दशमलव ४५ प्रतिशत घटेर रू. १ हजार ६ कायम भएको छ ।
शेयर सर्वाधिक खरीदविक्रीको हिस्सा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टले ओगटेको छ । यस कम्पनीको रू. २६ करोड ४५ लाख बराबरको कारोबार भएको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ९८४ कायम भएको छ । शेयर सर्वाधिक खरीदविक्री हुने दोस्रोमा जोशी हाइड्रोपावरको रू. १८ करोड ८९ लाख बराबरको भएको हो ।
आज कारोबारमा आएका १३ ओटै समूहगत सूचक घटेका छन् । तीमध्ये वित्त समूहको सूचक सबैभन्दा बढी ४ दशमलव ४१ प्रतिशत घटेको छ । त्यस्तै व्यापार समूहको सूचक ३ दशलमव ५५ प्रतिशत, जलविद्युत समूहको २ दशमलव ३६ प्रतिशत र विकास बैंक समूहको सूचक २ दशमलव ०३ प्रतिशत घटेको छ ।