काठमाडौं । लाभांश सार्वजनिकको विषयलाई लिएर गत मङ्सिर ७ गतेदेखि रोक्का रहेको रिडी हाइड्रो पावरको शेयर कारोबार फुकुवा भएको छ । नेप्सेले मङ्सिर १९ गतेदेखि लागू हुने गरी कम्पनीको शेयर कारोबार फुकुवा गर्ने निर्णय गरेको छ ।
रिडी हाइड्रोपावरले मङ्सिर ६ गते बिहान ११ बजे सञ्चालक समितिको बैठक बसेर आर्थिक वर्ष ०७८/७९ को सञ्चित मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ४० प्रतिशत बोनस शेयर र सोमा लाग्ने कर प्रयोजनका लागि २ दशमलव १० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको थियो ।
कम्पनीले लाभांशसम्बन्धी निर्णय नेप्सेमार्फत दिउँसो ३ बजेर ५५ मिनेटमा सार्वजनिक गरेको थियो । धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम सोही दिन कारोबार समयमा बैठक बसी धितोपत्र कारोबार तथा मूल्यसँग सम्बन्धित संवेदनशील सूचना तथा जानकारी सर्बसाधारणको पहुँचबाट वञ्चित गराएको भन्दै नेप्सेले कारोबार रोक्का गरेको थियो ।
नेप्सेले तीन दिनभित्र स्पष्टीकरण पेश गर्न भन्दै कारोबार रोक्का गरेको थियो । नेप्सेलाई स्पष्टीकरण पेश गर्दै कम्पनीले मङ्सिर ६ गते दिउँसो ३ बजेपछि नै बैठक बसेको तर सूचनामा भूलबस गलत समय उल्लेख भएको बताएको थियो । कम्पनीले पेश गरेको स्पष्टिकरण चित्त नबुझाएको नेप्सेले अन्ततः कारोबार फुकुवा गर्ने निर्णय गरेको छ । नेप्सेका अनुसार कम्पनीले आगामी दिनमा यस्ता गल्ती नदोहोर्याउने प्रतिबद्धताका साथ क्षमायाचना मागेको छ ।
रिडीले विगतका वर्षहरूमा अधिकतम १० दशमलव ५३ प्रतिशतसम्म मात्र लाभांश वितरण गर्दै आएको तथ्यांक छ । साविक रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडसँगको मर्जर प्रक्रिया पूरा गरी गत असार ३१ गतेदेखि एकीकृत कारोबार शुरू गरेको रिडीले यस वर्ष बम्पर लाभांश प्रस्ताव गरेको छ ।