वीरगञ्ज । आज ४५ औं विश्व पर्यटन दिवस ‘पर्यटन र शान्ति’ भन्ने मूल नाराका साथ देशभरि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यसै अवसरमा वीरगञ्जमा होटल तथा पर्यटन व्यवसायी संघले नेपाल भित्रिने पर्यटकलाई स्वागत गरेको छ ।
संघका अध्यक्ष हरि पन्तले मुख्य प्रवेशद्वार वीरगञ्जमा भारतबाट नेपाल भित्रिएका भारतीय पर्यटकलाई टीका र माला लगाउँदै दही खुवाएर स्वागत गरे । नेपालका विभिन्न तीर्थस्थलको भ्रमणका लागि आएका भारतीय बाबाहरूलाई शंकराचार्यद्वारमा स्वागत गरिएको हो ।
अध्यक्ष पन्तले भारतीय पर्यटकहरूले नेपाल प्रवेश गर्नेक्रममा अनेक हैरानी खेप्नुपरेको भन्दै सिमानामा पर्यटकका लागि सूचना केन्द्र, अध्यागमन, सटही काउन्टर र उचित परामर्शको व्यवस्था मिलाउन सरोकारवाला पक्षको ध्यानाकर्षण गराए ।
सो अवसरमा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दीपेन्द्र चौहानले पर्यटन नेपालको अर्थतन्त्रका मेरुदण्ड भएको बताए । धार्मिक पर्यटनको प्रचुर सम्भावना रहेको औंल्याउँदै नेपालमा आउने पर्यटकमध्ये भारतीय पर्यटकको संख्या उल्लेख्य रहेकाले सिमानामा उनीहरूको आगमनलाई सहजीकरण गरिनुपर्नेमा चौहानले जोड दिए ।
सिमानामा खटिएका सुरक्षाकर्मीहरूको व्यवहार पर्यटकमैत्री नभएकोले उनीहरूलाई प्रशिक्षित गरिनुपर्ने उनको भनाइ थियो । कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, होटल व्यवसायी, राजनीतिकर्मी, सामाजिक अभियन्ता, सञ्चारकर्मी लगायतको सहभागिता थियो ।