चितवन । भरतपुर महानगरपालिका वडा नं–१, देवघाटमा विद्युतीय शवदाह गृह ६ वर्षमा पूरा भएको छ । ‘कछुवा गतिमा’ निर्माण भएको भन्दै सबैतिरबाट चर्को आलोचना भएपछि नयाँ वर्षबाट सञ्चालनमा ल्याउन लागिएको हो ।
‘निकै लामो संघर्ष, समस्या, बाधा र अड्काउलाई फुकाउँदै शवदाह गृह निर्माणको कामलाई अन्तिम चरणमा ल्याइपुर्याएका छौं,’ सघन शहरी तथा भवन निर्माण कार्यालय चितवनका प्रमुख झपड थापाले भने ।
शवदाह गृह निर्माणमा रंगरोगनको काम बाँकी छ । शव जलाउने मेसिन फिट भइसकेको छ । झ्यालढोकामा केही काम अझै बाँकी छ । सघन शहरी तथा भवन निर्माण कार्यालयले चैतमा काम सकेर नयाँ वर्षसँगै शवदाह गृह सञ्चालनमा ल्याउने तयारी गरेको प्रमुख थापा बताउँछन् ।
निर्माण कम्पनीले दुई वर्षमा निर्माण सक्ने गरी ठेक्का सम्झौता गरे पनि पूरा हुन ६ वर्ष लाग्यो । निर्माणका लागि चारपटकसम्म म्याद थपियो । ‘निर्माण कम्पनीलाई जरीवाना लगाउनेदेखि ठेक्का तोड्नेसम्मको चेतावनी दिइयो,’ प्रमुख थापाले बताए ।
कामको प्रगति नदेखिएपछि ग्यारेन्टी रकमसमेत जफत भएको थियो । ‘अन्तत: काम सम्पन्न भएको छ अब, सामान्य केही काम बाँकी छ । अन्तिम चरणमा म्याद थप्ने त कुरै भएन, अझै अगाडि सकिन्छ कि भनेर लागिरहेका छौं, ’ उनले भने ।
देवघाट विद्युतीय शवदाह गृह भरतपुर महानगरपालिकाको गौरवको आयोजना भन्दै काम छिटो सक्न पटकपटक महानगरले पनि निर्माण कम्पनीलाई निर्देशन दिएको थियो । विसं २०७५ माघ ३ गते शवदाह गृह निर्माणको जिम्मा मिलिनियम सिद्धगढी जेभीले लिएको थियो । काम नै अघि बढ्न नसकेपछि शवदाह गृहको निर्माण सम्झौता थपिएको थियो । पहिलो म्याद २०७७ साल माघ ३ गतेसम्म दिइयो । यो समयमा निर्माण नभएपछि २०७८ साल चैत मसान्तसम्म निर्माणको पुन: म्याद थपियो । चैत मसान्तसम्म पनि निर्माण नभएपछि फेरि तेस्रोपटक २०७९ साउन ३० गतेसम्म म्याद थपियो ।
पटकपटक म्याद थपे पनि निर्माण पूरा नहुँदा सर्वत्र निराशा र हैरानी खेप्नु परेको थियो । चौंथोपटक पुन: म्याद थपियो । सघन शहरी कार्यालयले चौथोपटकको म्यादभित्र अहिले काम भइरहेको जनाएको छ । संघीय सरकारको बजेटबाट मूल्य अभिवृद्धि करबाहेक ९ करोड ९२ लाख रुपैयाँमा शवदाह गृह निर्माणको ठेक्का लगाइएको थियो । ६ सय वर्गमिटरमा शवदाह गृह निर्माणको काम करीब पूरा भएको छ ।
देवघाट क्षेत्र विकास समितिका अध्यक्ष सदन बरालले शवदाह गृहमा लाइट जडानको काम अझै बाँकी रहेको बताए । उनले भने, ‘वैशाखमै सञ्चालनमा ल्याउने तयारी छ, अब काम धेरै बाँकी छैन, अब कुनै व्यवधान आउने छैन भन्ने विश्वास पनि छ ।’
देवघाट क्षेत्र विकास समिति दाहसंस्कार उपसमिति संयोजक रत्नलाल कँडेलका अनुसार चितवन, तनहुँ र नवलपरासी तीन जिल्लाको सङ्गमस्थल देवघाटमा दैनिक औसत १० ओटा शवको दाहसंस्कार हुने गरेको छ । एउटा शव जल्नका लागि चार क्विन्टल दाउरा आवश्यक पर्ने उनले बताए ।