काठमाडौं । सात ओटा वाणिज्य बैंक र दुई विकास बैंकसहित ९ बैंकले गत आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई दिने लाभांश घोषणा गरेका छन् ।
विकास बैंकमध्ये सांग्रिला डेभलपमेन्ट बैंक र शाइना रेसुङ्गा डेभलपमेन्ट बैंक छन् । साग्रिला डेभलपमेन्ट बैंकले ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ४४९ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । त्यस्तै शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले १० दशमलव ५० प्रतिशत कर प्रयोजनको लागि शून्य दशमलव ५५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
लाभांश घोषणा गर्ने वाणिज्य बैंकमा माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, एनआईसी एशिया बैंक, सानिमा बैंक, सिटिजन बैंक इन्टरनेशनल, सिद्धार्थ बैंक र स्ट्यान्डर्ड चार्टड बैंक छन् । यीमध्ये माछापुच्छे, एभरेष्ट, एनआईसी एशिया, सानिमा र सिटिजनले साधारणसभासमेत सम्पन्न गरी लाभांश पारितसमेत गरिसकेका छन् ।
स्ट्याण्डर्ड चार्टड बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई नगद लाभांशमात्रै वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले १९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । त्यस्तै सिद्धार्थ बैंकले ४ दशमलव २१ प्रतिशत नगद लाभांश प्रस्ताव पारितका लागि मंसिर ५ गते साधारण सभा बोलाएको छ ।
लाभांश घोषणा गरका सात वाणिज्य बैंकमध्ये सबैभन्दा बढी एनआईसी एशिया बैंकले कुल ३० दशमलव ५२ प्रतिशत लाभांश दिएको हो । बैंकले २९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ दशमलव ३५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
त्यस्तै एभरेष्ट बैंकले १० प्रतिशत बोनस शेयर र १० दशलमव ५३ प्रतिशत नगद लाभांश, सानिमा बैंकले ९ प्रतिशत बोनस शेयर र करसहित ५ दशमलव ६० प्रतिशत, माछापुच्छ्रे बैंकको १३ दशमलव ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७० प्रतिशत नगद लाभांश र सिटिजन्स बैंकले ५ दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारण सभाबाट पारित गरिसकेका छन् ।