काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक ७ दशमलव ३३ अंक घटेर बन्द भएको छ । यससँगै नेप्से २ हजार ५८८ दशमलव ६२ विन्दुमा झरेको हो । बजार घट्दा वित्त समूहका लगानीकर्ताले सर्वाधिक गुमाएका छ्न् । बिहीवार यस समूहको सूचक सबैभन्दा बढी ५ दशलमव १९ प्रतिशत घटेको छ ।
वित्तीय अवस्था कमजोर रहेका वित्त कम्पनीहरूको शेयर मूल्य यसअघि धेरै बढेकाले अहिले करेक्सनमा गएको देखिन्छ । यसले समग्र नेप्से सूचकमा असर गरेको जानकार बताउँछन् । कतिपय वित्त कम्पनीको अवस्था खराब रहेको र राष्ट्र बैंकले कारवाही गर्न सक्ने हल्ला चलेकाले यो समूह बढी प्रभावित भएको हो ।
कारोबार रकम भने अघिल्लो कारोबार दिनको तुलनामा केही बढेको छ । अघिल्लो कारोबार दिन रू. ५ अर्ब ८२ करोड बराबरको कारोबार भएकोमा आज रू. ५ अर्ब ९३ करोड बराबरको कारोबार भएको हो ।
यस दिन सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ५४ प्रतिशत, फ्लोट इन्डेक्स शून्य दशमलव ६० प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ६३ प्रतिशत घटेको छ ।
आज २९६ धितोपत्रको १ करोड १७ लाख ४९ हजार ७०१ कित्ता शेयर ७० हजार ६३४ पटक कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये तीन धितोपत्रको मूल्य १० प्रतिशतका दरले वृद्धि भएको छ ।
बोटर्लस नेपाल बालाजु, विन नेपाल लघुवित्त वित्तीय संस्था र मन्दाकिनी हाइड्रोपावर कम्पनीको शेयर मूल्य अघिलल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशतका दरले वृद्धि भएको हो । बोटलर्स नेपाल बालाजुको शेयर मूल्य प्रतिकित्ता रू. १६ हजार ३९०, विन नेपाल लघुवित्तको शेयर मूल्य रू. ३ हजार २५ र मन्दाकिनी हाइड्रोपावरको शेयर मूल्य रू. ९३५ पुगेको छ ।
आज पोखरा फाइनान्सका शेयरधनीले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत घटेको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ४३३ मा झरेको छ । दोस्रोमा जानकी फाइनान्स कम्पनीको शेयर मूल्य ९ दशमलव ३९ प्रतिशत घटेर रू. ५६० कायम भएको छ ।
सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा सिन्धु विकास बैंकले ओगटेको छ । यस कम्पनीको रू. २८ करोड ५७ लाख बराबरको शेयर खरीदविक्री भएको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १ हजार ४२ दशमलव १० कायम भएको छ । सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट छ । कम्पनीको रू. २१ करोड १८ लाख बराबरको शेयर खरीदविक्री भएको हो ।
आज कारोबारमा आएका १३ समूहगत सूचकमध्ये पाँच समूहको सूचक बढेको छ भने बाँकी सबै समूहको सूचक घटेको छ । तीमध्ये व्यापार समूहको सूचक सबैभन्दा बढी २ दशमलव ०३ प्रतिशत बढेको छ भने वित्त समूहको सूचक सबैभन्दा बढी ५ दशमलव १९ प्रतिशत घटेको छ ।