वैशाख २०, काठमाडौं । संविधानसभा अभिलेख अध्ययन तथा निक्र्योल समितिद्वारा गठित ६ उपसमितिमध्ये पाँच उपसमितिले ९ विषयगत प्रतिवेदनमा उल्लिखित संविधानको प्रारम्भिक मस्यौदामा रहेका सहमति र असहमति निर्क्योल गर्ने कार्य पूरा गरेका छन् । त्यस्तै मौलिक अधिकार तथा निर्देशक सिद्धान्त समिति र संवैधानिक समितिका प्रतिवेदनमा रहेका संविधानका प्रारम्भिक मस्यौदामा रहेको सहमति र असहमतिको निर्क्योल गर्ने काम अन्तिम चरणमा पुगेको संविधान अभिलेख अध्ययन तथा निर्क्योल समितिले बताएको छ ।
अघिल्लो संविधानसभामा रहेका विषयगत समितिमा संवैधानिक, मौलिक अधिकार तथा निर्देशक सिद्धान्त, न्याय प्रणालीसम्बन्धी, अल्पसङ्ख्यक तथा सीमान्तकृत समुदायको हक अधिकार संरक्षण, सांस्कृतिक र सामाजिक ऐक्यबद्धताको आधार निर्धारण, राज्यको पुनःसंरचना र राज्यशक्तिको बाँडफाँट, राज्यको शासकीय स्वरूप निर्धारण, व्यवस्थापकीय अङ्गको स्वरूप निर्धारण, संवैधानिक निकायको संरचना निर्धारण, प्राकृतिक स्रोत, आर्थिक अधिकार तथा राजस्व बाँडफाँट र राष्ट्रिय हितको संरक्षण समिति थिए । उपसमितिले अध्ययन गरी तयार गरेका प्रतिवेदन समितिमा पेश गर्ने र छलफल गर्ने कार्य वैशाख २३ गतेदेखि हुने बताइएको छ ।