काठमाडौं । धितोपत्र दलाल व्यवसायी (ब्रोकर) कम्पनीहरूको दुईओटा संगठन रहेकोमा अब एक भएर जाने भएका छन् । स्टक ब्रोकर एशोसिएसन अफ नेपाल र धितोपत्र ब्रोकर एशोसिएसन अफ नेपाल एक भएर जान लागेका हुन् ।
पुराना ५० ब्रोकर कम्पनीहरूको संगठन स्टक ब्रोकर एशोसिएसन र ४२ नयाँ ब्रोकर कम्पनीहरूको संगठन धितोपत्र ब्रोकर एशोसिएसन हो ।
बोर्डबाट नयाँ ब्रोकर लाइसेन्सका लागि आशयपत्र प्राप्त गरेका ४३ कम्पनीमध्ये एक कम्पनी पुरानो ब्रोकर कम्पनी हो । पुरानो ब्रोकर कम्पनी सनी सेक्यूरिटिज ६० करोड पूँजी कायम गरी नयाँ लाइसेन्स लिएको कम्पनी हो । सीमित कार्यको ब्रोकर सेवा प्रदान गर्ने हैसियतमा रहेको यस कम्पनीले ६० करोड चुक्ता पूँजी कायम गरी दोस्रो तहको पूर्ण कार्य गर्ने ब्रोकरको लाइसेन्स लिएको हो ।
नेपालको धितोपत्र बजारमा ११ वर्षपछि नयाँ ४२ कम्पनीहरूले ब्रोकर लाईसेन्स प्राप्त गरेका छन् । यसअघि २०६८ सालमा २३ नयाँ ब्रोकर कम्पनी थप गरी ५० पुर्याइएको थियो । पछिल्लो वर्ष २०८० सालमा पूँजीका हिसाबमा तीन किसिमका ४२ कम्पनीलाई ब्रोकर लाइसेन्स प्रदान गरिएको हो ।
अझै एक कम्पनी लाइसेन्स पाउने पर्खाइमा छ । ब्रोकर लाइसेन्स प्राप्त गर्न बाँकी २८ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी भएको सिजी ईन्भेष्टमेण्ट सेक्युरिटिज लिमिटेडले भने भौतिक संरचनामा केही सुधार गर्न आवश्यक देखिएकाले स्वीकृति पाउन ढिलाइ भएको जानकारी बोर्डले दिएको छ । यस कम्पनीको लाइसेन्स वितरण भने अब नयाँ अध्यक्षको नियुक्तिपछि मात्र अघि बढ्ने भनाइ बोर्ड प्रवक्ता मुक्तिनाथ श्रेष्ठको छ ।
शुरुका दिनमा पुराना र नयाँ ब्रोकर कम्पनीबीच एक किसिमको द्वन्द्व नै सिर्जना भएको थियो । पुराना ब्रोकर कम्पनीहरू नै व्यावसायिक रूपमा सफल नभइरहेको अवस्थामा नयाँ ब्रोकर थप गर्नुको औचित्य नभएको तर्क पुराना ब्रोकरले गर्ने गरेका थिए ।
ती आलोचनाबीच पनि नियामक निकाय नेपाल धितोपत्र बोर्डले पूँजीका हिसाबमा बलिया ब्रोकर कम्पनी भित्रिनुपर्ने प्राथमिकता साथ नयाँ ब्रोकर लाइसेन्स प्रदान गरेको हो ।
एउटै उद्देश्यका साथ सञ्चालनमा आएका ब्रोकर कम्पनीको दुई संगठन शुरुका दिनदेखि नै आवश्यक नठानेको भएपनि विविध कारणले दुई ओटा संगठन विस्तार हुन पुगेको कुरा स्टक ब्रोकर एशोसिएसनका अध्यक्ष धर्मराज सापकोटा सम्झन्छन् । केही समयअघिदेखि नै दुई एशोसिएसन एक भएर जाने छलफल अघि बढेको भएपनि केही प्राविधिक कारणले ढिला भएको उनको भनाइ छ । यो आर्थिक वर्ष समाप्त भएसँगै दुई संगठन एक भएर अघि बढ्ने उनको भनाइ छ ।
दुई सगठनमध्ये स्टक ब्रोकर एशोसिएसन २०५१ सालमा सामाजिक संस्था ऐन र धितोपत्र ब्रोकर एशोसिएसन २०८० सालमा कम्पनी ऐनअन्तर्गत दर्ता भएको देखिन्छ ।
धितोपत्र ब्रोकर एशोसिएनका अध्यक्ष सागर ढकाल पनि आगामी असार मसान्तभित्र सबै नयाँ ब्रोकर कम्पनीहरू स्टक ब्रोकर एशोसिएसनमा समाहित भई साउनमा एक भएर अघि बढ्ने जानकारी दिए । पुरानो संगठनको इतिहास जोगाई राख्ने गरी नयाँ ब्रोकर कम्पनीहरू पुरानो संगठनको सदस्य बन्ने ढकालले प्रष्ट पारे ।
कम्पनी ऐनअन्तर्गत दर्ता भएको धितोपत्र ब्रोकर एशोसिएसनको अस्तित्व समेत जोगाई राख्न यस कम्पनीअन्तर्गत सामाजिक उत्तरदायित्वका कामहरू गर्ने जानकारीसमेत ढकालले दिए । पुरानो र नयाँ संगठन एक भएर अघि बढ्दा धितोपत्र व्यवसायमा समेत फरकपन आउने विश्वास ढकालले गरे ।
धितोपत्र बजारको विकास र विस्तारका लागि ९२ ब्रोकर कम्पनीहरू सञ्चालनमा रहनेछन् । यीमध्ये दुई धितोपत्र व्यापारी, तीन पूर्ण कार्य गर्ने र बाँकी सिमित कार्य गर्ने ब्रोकरहरू हुनेछन् ।
पहिलो तहको सीमित कार्य गर्ने ब्रोकरको पूँजी २० करोड रुपैयाँ, शेयर खरीदविक्री गर्नेसँगै डिपीको रूपमा काम गर्ने, लगानी परामर्श सेवा एवम् लगानी व्यवस्थापन गर्ने र मार्जिन कारोबार सेवासमेत दिने पूर्ण दायरा सहितको दोस्रो तहको ब्रोकरको चुक्ता पूँजी ६० करोड र तेस्रो तहको स्टक डिलरको सेवा प्रदान गर्ने धितोपत्र व्यापारीको १ अर्ब ५० करोड चुक्तापूँजी छ ।
पुराना ब्रोकर कम्पनीले पनि पूँजी बढाएर सेवाको आकार विस्तार गर्न चाहेमा बोर्डले तोके बमोजिमको पूँजी कायम गर्न सक्नेछन् । यसका लागि बोर्डले २०८२ असार मसान्तभित्रको समयसीमा तोकिदिएको छ ।