काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा शुक्रवार (आज) दुई कम्पनीको शेयर सूचीकृत भएको छ । मर्जरपश्चात कायम नेरुडे लघुवित्त वित्तीय संस्था र सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर सूचीकृत भएको हो ।
साविकको सामुदायिक लघुवित्त वित्तीय संस्था र बिपिडब्लु लघुवित्त वित्तीय संस्था गाभिँदा १:०.८५३५ अनुपातमा कायम हुन आएको २ लाख ५६ हजार ५० कित्ता शेयर सूचीकृत भएको छ । उक्त शेयर सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट सूचीकृत भएको हो ।
साथै मर्जर प्रयोजनको लागि रोक्का रहेको उक्त कम्पनीको शेयर कारोबार पनि फुकुवा भएको जनाएको छ । मर्जरपछिको पहिलो कारोबारको लागि नेप्सेले रू. ८८३ दशमलव ९७ ओपन रेञ्ज प्रदान गरेको छ । यही रेञ्जको आधारमा कम्पनीको शेयर आइतवारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछ । स्टक सिम्बोल एसएलबिएसएल रहेको छ ।
त्यस्तै साविकको नेरुडे लघुवित्त वित्तीय संस्था र मिर्मिरे लघुवित्त वित्तीय संस्था छ १ः१ को अनुपातमा मर्ज भएपछि कायम हुन आएको कुल १ करोड ३९ लाख ७७ हजार ६४३ कित्ता शेयर सूचीकृत भएको हो । उक्त शेयर नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको नामबाट सूचीकृत भएको हो ।
साथै मर्जर प्रयोजनको लागि रोक्का रहेको उक्त कम्पनीको शेयर कारोबार पनि फुकुवा भएको छ । मर्जरपछिको पहिलो कारोबारको लागि नेप्सेले रू.५८७ दशमलव ८६ ओपन रेञ्ज प्रदान गरेको छ । यही रेञ्जको आधारमा कम्पनीको शेयर आइतवारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछ । स्टक सिम्बोल एनएमएलबिबिएल रहेको छ ।