काठमाडौं। कैलालीको कर्णाली चिसापानीमा आईएमई समूहले निर्माण गर्ने जालपादेवी केबलकारको शनिवार शिलान्यास गरिएको छ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले लम्कीचुहा नगरपालिका–३ स्थित कर्णाली चिसापानीमा ३ दशमलव १ किलोमिटर लामो केबलकार निर्माणको शनिवार परराष्ट्रमन्त्री राणाले शिलान्यास गरेकी हुन् ।
शिलान्यास कार्यक्रममा परराष्ट्रमन्त्री राणाले जालपादेवी केबलकारको निर्माणले समग्र सुदूरपश्चिम प्रदेशको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा उल्लेख्य भूमिका खेल्ने बताइन् । परराष्ट्रमन्त्री राणाले भनिन्, ‘सुदूरपश्चिम पर्यटन, संस्कृति, परम्परा र जैविक विविधतामा धनी छ । प्राकृतिक स्रोत एवं सम्पदाले यो भूगोल जति सम्पन्न छ, त्यति नै यहाँका नागरिकमा सांस्कृतिक एकता र सद्भाव पनि छ । यसकारण मुलुकको सुदूरपश्चिम क्षेत्रका समुदाय विकासप्रेमी पनि छन्,’ उनले भनिन्, ‘सुदूरपश्चिम प्रदेशमा केबलकार, होटलसहितको भव्य पर्यटकीय पूर्वाधारले सुदूरपश्चिम र मुलुककै समृद्धिका लागि पनि धेरै ठूलो टेवा पुग्नेछ ।’
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले केबलकार तथा अन्य पर्यटन पूर्वाधारले सुदूरपश्चिम प्रदेशको विकासमा उल्लेख्य सघाउ पुग्ने बताए । नेपालको पश्चिम भेगमा भौतिक विकासका पूर्वाधार कम रहेको भन्दै उनले यस्ता पूर्वाधार विकासमा थप लगानी भित्त्याउन निजीक्षेत्रलाई आग्रह समेत गरे ।
‘सुदूरपश्चिम, कर्णाली तथा लुम्बिनी प्रदेशमा आधुनिक विकासका ठूला पूर्वाधार निकै कम छन् । यस्ता पूर्वाधारका थप आयोजना लिएर हाम्रो क्षेत्रमा आउनुहोस् । हामी स्वागत गर्दछौं,’ उनले भने । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम प्रदेशको प्रवेशद्वार मानिने कर्णाली चिसापानीमा निर्माण हुने केबलकार र रिसोर्टले साहसिक, धार्मिक र मनोरञ्जन पर्यटनलाई बढावा दिने बताए ।
कार्यक्रममा आईएमई समूहका साथै जालपादेवीकेबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको आर्थिक तथा सामाजिक रूपान्तरणमा पर्यटन महत्त्वपूर्ण आधार रहेको बताए । उनले भने, ‘पर्यटन पूर्वाधारमा लगानी गरे मात्र लक्ष्यअनुसार पर्यटक भित्त्याउन सकिन्छ । पर्यटकको बसाइ लम्ब्याउन, थप विदेशी मुद्रा आर्जन र थप रोजगारी सृजना गर्न सकिन्छ । थप राजस्व उठाउन सकिन्छ र हामीले अपेक्षा गरेको आर्थिक विकास र समृद्धि हासिल गर्न सकिन्छ ।’
अध्यक्ष ढकालले केबलकार पर्यटन सर्किट बनाउने आफ्नो लक्ष्यमा जालपादेवी केबलकार निर्माणको शिलान्यासले नयाँ उत्साह थपेको बताए । लम्कीचुहा नगरपालिका–३ को चिसापानीदेखि मोहन्याल गाउँपालिका–७ राजकाँडासम्म पुग्ने ३ दशमलव १ किलोमिटर लामो केबलकारमा ३४ ओटा गोन्डोला हुनेछन् । कुल पाँच अर्ब रुपैयाँ लगानी हुने केबलकारको बटम स्टेसनमा केबलकार, होटल, क्यासिनो, ब्याङ्क्वेट हल निर्माण गरिनेछ भने टप स्टेसनमा रिसोर्ट, मन्दिर, स्काई वाक, वाकिङ ट्रेल, रेष्टुरेन्ट तथा चिल्ड्रेन पार्कसहित अन्य पर्यटकीय तथा मनोरञ्जनात्मक पूर्वाधार निर्माण गरिने कम्पनीले जानकारी दिएको छ ।