काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको शेयर रजिष्ट्रारमा एनआइएमबि एस क्यापिटल लिमिटेड नियुक्त भएको छ । क्यापिटललाई आगामी दिनमा शेयर रजिष्ट्रारको जिम्मेवारी पूरा गर्ने गरी नियुक्त गरिएको जानकारी कम्पनीले सूचनामार्फत गराएको हो ।
यस कम्पनीले सर्वसाधारणमा आईपीओ निष्कासन तथा बाँडफाँट कार्य सम्पन्न गरिसकेको छ । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकको काम भने कुमारी क्यापिटल लिमिटेडले पूरा गरेको थियो ।
कम्पनीले पुस २१ देखि २४ गतेसम्म सर्वसाधारणका लागि १८ लाख ४५ हजार कित्ता आईपीओ निष्कासन गरी माघ ६ गते बाँडफाँट गरेको थियो ।
धितोपत्र दोस्रो बजारमा कम्पनीको शेयर सूचीकरण हुन बाँकी रहेको छ ।
नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)ले कम्पनीलाई सर्वसाधारणमा कुल २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति दिएको हो ।
कुल कित्ता आईपीओमध्ये २ लाख २५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि, १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषहरूका लागि, ६७ हजार ५०० कित्ता कम्पनीका कर्मचारीको लागि वितरण गरी बाँकी रहेको १८ लाख ४५ हजार कित्ता शेयर भने सार्वजनिक निष्कासनमार्फत विक्री गरिएको हो ।
यो कम्पनी नेपालको पहिलो डिजिटल प्रविधिबाट बीमालेख जारी गर्ने लघुबीमा कम्पनी हो । अधिकृत पूँजी ८० करोड रुपैयाँ रहेको कम्पनीको जारी पूँजी ७५ करोड रुपैयाँ छ । संस्थापकतर्फ चुक्ता भएको पूँजी ५२ करोड ५० लाख रुपैयाँ छ । सर्वसाधारणमा ३० प्रतिशत आईपीओ बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी ७५ करोड रुपैयाँ कायम भएको छ ।
कम्पनीले नियामक निकाय नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम पूँजी वृद्धिका लागि आईपीओ निष्कासन गरेको हो ।