काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ४२ लाख १४ हजार रुपैयाँ खुद नाफा गरेको छ ।
गत वर्षको दोस्रो त्रैमाससम्म ११ लाख ६ हजार रुपैयाँ खुद नाफा गरेको कम्पनीले यस वर्ष ३१ लाख ८ हजार रुपैयाँले खुद नाफा बढाएको हो । यस वर्ष इम्पेयरमेन्ट चार्जबापतको ५ करोड ८९ लाख रुपैयाँ फिर्ता भएका कारण कम्पनीको खुद नाफामा सकारात्मक प्रभाव परेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले इम्पेयरमेन्ट चार्जबापत ५ करोड ६४ लाख रुपैयाँभन्दा बढी छुट्याएको थियो ।
यस अवधिसम्म कम्पनीको वितरणयोग्य नाफा भने १ करोड ६९ लाख रुपैयाँभन्दा बढी रहेको छ । हाल कम्पनीको चुक्तापँजी १ अर्ब ७३ करोड ९४ लाख ४० हजार रुपैयाँ छ भने जगेडा कोष रकम ८० करोड ८४ लाख रुपैयाँभन्दा बढी रहेको छ ।
विभिन्न बैंक तथा वित्तीय संस्थाबाट १५ अर्ब ७३ करोड रुपैयाँभन्दा बढी कर्जा सापटी लिएको कम्पनीले १ अर्ब ८० करोड ४५ लाख रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ । यस अवधिसम्म कम्पनीले १६ अर्ब ३० करोड ५१ लाख रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ ।
गत वर्ष १३ दशमलव ७६ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष १३ दशमलव ३७ प्रतिशतमा झरेको छ । वार्षिक ४८ पैसा प्रतिशेयर आम्दानी रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १४७ रुपैयाँ ४५ पैसा रहेको छ ।