काठमाडौं । लामिनार टाइल्स्को उत्पादक लुम्बिनी सेरामिक्स लिमिटेडले नेपाली सर्वसाधारणको लागि प्राथमिक शेयर निष्कासन गर्ने घोषणा गरेको छ ।
कम्पनीले विद्यमान धितोपत्र दर्ता तथा निष्कासनसम्बन्धी नियमावली र धितोपत्र निष्कासन तथा बाँडफाँडसम्बन्धी निर्देशिकाहरूमा भएको व्यवस्थाबमोजिम नियमनकारी निकायहरूबाट आवश्यक स्वीकृति प्राप्त गरी आउँदो ६ महीनाभित्र आईपीओ जारी गर्ने लक्ष्य राखेको जानकारी दिएको हो ।
शेयर निष्कासन कार्यका लागि शेयर निष्कासन तथा विक्री प्रबन्धकको रूपमा नबिल इन्भेष्टमेण्ट बैंकिंङ लिमिटेडलाई नियुक्त गरेको पनि कम्पनीले बताएको छ ।
गत साता भएको सो सम्झौतामा लुम्बिनी सेरामिक्स लिमिटेडको तर्फबाट कम्पनीका सञ्चालक श्याम सुन्दर खेतान तथा नबिल इन्भेष्टमेन्ट बैंकिंङ लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् ।
'लामिनार टायल्सलाई शतप्रतिशत भिट्रिफाइड टायल्स ब्रान्डका रूपमा बजारमा व्यापक रूपमा रुचाइएको छ,' कम्पनीका अध्यक्ष सुब्रत धितालले भने, 'हामीलाई विश्वास छ कि यो आईपीओले हाम्रो व्यवसाय विस्तारलाई थप गति दिनेछ ।'
बर्दियाको गुलरियामा साढे १२ बिघा जमिनमा फैलिएको कम्पनीको अत्याधुनिक प्रविधियुक्त उत्पादन केन्द्रबाट लेमिनार टायल्स्को उत्पादन भइरहेको छ ।