काठमाडौं । प्रभु ग्रुप्सद्वारा स्थापित प्रभु केवलकार एण्ड टुरिजम लिमिटेडले प्राइभेट ईक्युटी, भेञ्चर क्यापिटल, शेयर ब्रोकर कम्पनी, कम्पनीको पोर्टफोलियो म्यानेजमेन्ट र एसआईपीका लागि प्रस्ताव आह्वान गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गरी यस्तो आह्वान गरेको हो ।
कम्पनीले आफ्नो लगानीलाई विविधीकरण गर्न केवलकार, जलविद्युत, होटल र पर्यटनमा मात्र नभई अन्य सम्भावित उच्च प्रतिफल दिने क्षेत्रमा समेत लगानी विस्तार गर्न लागेको कम्पनीका कार्यकारी अध्यक्ष भोजकुमार खड्काले जानकारी दिए ।
यस कम्पनीले शेयर ब्रोकरको हिस्सेदारी खरीद गरी कामसमेत गर्ने इच्छा राखेको छ । नेपाल धितोपत्र बोर्डबाट शेयर कारोवार गर्न स्वीकृति लिएका १०० शेयर दलाल कम्पनीहरूमध्ये केही ब्रोकर कम्पनीहरूले पूँजी पुर्याउन नसकिरहेको बेला यस कम्पनीले त्यस्ता शेयर ब्रोकर कम्पनीमा लगानी गर्न लागेको हो ।
लगानी विविधीकरण गर्दा शेयरधनीहरूले भविष्यमा राम्रो प्रतिफल प्राप्त गर्न सक्ने देखिएकाले यस्तो निर्णय गरिएको अध्यक्ष खड्काले जानकारी दिए । यस कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न कुमारी क्यापिटल लिमिटेडलाई विक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।
कम्पनीले निकट भविष्यमा हकप्रद शेयर विक्रीबाट बचेको केही शेयर लिलाम बढाबढ गरी विक्री गर्न लागेको जनाएको छ । यस कम्पनीले चालु आर्थिक वर्ष (आव)को पुस मसान्तसम्म रु. ८.५ करोडभन्दा बढी आम्दानी गरेको छ । कम्पनीले लगानी गरेको सिद्धार्थ केवलकार परियोजना गत भदौदेखि सञ्चालनमा आइसकेको छ ।