काठमाडौं। नेपाल चेम्बर अफ कमर्सले विभिन्न खेलकुद र सोसँग सम्बन्धित सामग्रीको प्रर्दशनी आयोजनाका लागि विभिन्न संस्थासँग सहकार्यको सम्झौता गरेको छ । चेम्बरको शिक्षा एवं खेलकुद समितिले नेपाल खेलकुद पत्रकार मञ्च, माइस इन्टरनेशनल सर्भिस प्रालि, नेपाल स्पोर्टस एण्ड फिटनेश इन्डस्ट्री तथा नेपाल स्पोर्ट्स एशोसिएसनसँग सहकार्यका लागि सम्झौता गरेको हो ।
नेपाल स्पोटर्स कन्क्लेभ २०२५, नेपाल दोस्रो स्पोर्ट्स एण्ड फिटनेस एक्स्पो २०२५ एवं पाँचौं स्पोटर््स च्याम्पियनसिप एण्ड एक्स्पोका लागि सहकार्यको सम्झौता गरिएको चेम्बरले जानकारी दिएको छ ।
सम्झौतामा चेम्बरको शिक्षा एवं खेलकुद समितिका सभापति रुपक राजवंशी, नेपाल स्पोर्ट्स एण्ड फिटनेश इन्डस्ट्रीका अध्यक्ष सुरज डंगोल, नेपाल खेलकुद पत्रकार मञ्चका केन्द्रीय सदस्य निरन्जन राजवंशी र माइस इन्टरनेशनलका निर्देशक दिपक थापाले हस्ताक्षर गरेका छन् । हस्ताक्षर कार्यक्रममा चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवाल र वरिष्ठ उपाध्यक्ष दिपक मल्होत्राको सहभागिता थियो ।
चेम्बर र खेलकुदका विभिन्न निकायबीच भएको सम्झौताले नेपालमा खेल क्षेत्रको विकास, अवसरको सृर्जना एवं नीतिगत तवरमा सहकार्य हुने विश्वास गरिएको छ । दोस्रो नेपाल स्पोटर्स कन्क्लेभमा समूहगत छलफल, कार्यपत्र प्रस्तुति लगायतका कार्यका लागि चम्बरले सहकार्य गर्ने बताइएको छ । यस्तै चेम्बरसँगको सहकार्यमा पाँचौं स्पोटर्स च्याम्पियनसिपको समेत आयोजनाको तयारी भएको बताइएको छ । सम्झौता तीन वर्षका लागि कायम रहने बताइएको छ ।