काठमाडौैं । सहकारी ठगी प्रकरणमा पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ३२ जनाविरुद्ध चितवन जिल्ला अदालतमा ठगी अभियोगमा मुद्दा दायर भएको छ । यसअघि ठगी गरेको आरोपमा १७ जनाविरुद्ध अभियोगपत्र दायर भएकोमा अहिले थप १५ जनाविरुद्ध पूरक अभियोगपत्र दर्ता भएको हो ।
लामिछानेविरुद्ध सहकारी संस्थाको रकम अपचलनसम्बन्धी यसअघि नै तीन जिल्लामा मुद्दा विचाराधीन छन् । उनलाई कास्की जिल्ला अदालतले गत पुस २५ गते ६५ लाख रुपैयाँ धरौटीमा रिहा गरेको थियो । यस्तै, काठमाडौं जिल्ला अदालतले माघ २ गते ६० लाख रुपैयाँमा लामिछानेलाई थुनामुक्त गरेको थियो। सबैभन्दा बढी धरौटीबापत एक करोड रुपैयाँ लिएर रूपन्देही जिल्ला अदालतले माघ १३ गते उनलाई रिहा गरेको थियो।
रविसँगै गोरखा मिडिया प्रालिका तत्कालीन शेयरधनी तथा सञ्चालक छविलाल जोशी, राम बहादुर खनाल, कुमार रम्तेल लगायतविरुद्ध अभियोग दर्ता भएको हो ।
अभियोग लागेका ३२ जनामध्ये ५ जना उपस्थित छन् भने १ जना अनुपस्थित छन् । अन्य २६ जना फरार रहेको अभियोग पत्रमा उल्लेख छ । कुल ३२ जनामध्ये पूरक अभियोगपत्रमा सङ्गठित अपराधमा १२ जनाविरुद्ध ठगी र सङ्गठित अपराध दुवै कसुरमा दर्ता भएको छ
अभियोगपत्रमा ३८ करोड ९ लाख ७९ हजार रुपैयाँ क्षतिपूर्ति भराउनुपर्ने मागदाबी गरिएको छ।