चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई चितवन जिल्ला अदालतले न्यायिक हिरासतमा पठाएको छ।
चितवनको साहारा सहकारी ठगी प्रकरणमा लामिछानेसहित १५ जना प्रतिवादीको बयान लिइएको थियो । बुधबार अदालतमा बयान सकिएपछि थुनछेक बहस शुरू गरिएको थियो।
अदालतका न्यायाधीश दयाराम ढकालको इजलासले लामिछानेलाई भोलि (बिहीबार) बिहान १० बजे अदालतमा उपस्थित गराइने निर्णय गरेको छ। अदालतको आदेशअनुसार उनलाई प्रहरी हिरासतमा राखिएको छ।
सरकारी वकिलतर्फबाट जिल्ला न्यायाधिवक्ता रवि न्यौपाने, सहायक न्यायाधिवक्ताहरू अमृत सुवेदी र बुद्ध बहादुर थापासहित तीन जनाले बहस गरेका छन्। सहकारी पीडितको तर्फबाट बुधबार रमेश काफ्लेले मात्र बहस गर्न सकेका थिए। अन्य पक्षहरूको बहस बिहीबार अदालत खुलेपछि हुने छ।