काठमाडौं । चालू आर्थिक वर्ष २०८१/०८२ को दोस्रो त्रैमाससम्ममा अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले ३७ लाख ८६ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
गत आर्थिक वर्षको यसै अवधिसम्ममा ६ करोड २४ लाख रुपैयाँ नोक्सानीमा रहेकोमा कम्पनीको ब्याज तथा सेवा शुल्क आम्दानी वृद्धि हुँदा नाफा सकारात्मक भएको हो ।
कम्पनीले प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार चालु आवको पुससम्ममा ६ करोड ३१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।
गत आवको यही अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १२ लाख ५७ हजार रुपैयाँ ऋणात्मक थियो । चालू आवको पुसम्ममा कम्पनीले सेवा शुल्क तथा कमिसनबाट २ करोड १२ लाख रुपैयाँ आम्दानी गरेको छ । गत आवको पुससम्ममा कम्पनीको यस्तो आम्दानी एक करोड ३५ लाख रुपैयाँ थियो ।
यसैगरी चालु आवको पुससम्ममा सदस्यहरूबाट २९ करोड ५८ लाख रुपैयाँ बचत संकलन गरेको कम्पनीले २ अर्ब ७५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत आवको यही अवधिसम्ममा कम्पनीको बचत संकलन २२ करोड ७१ लाख रुपैयाँ तथा एक अर्ब ९१ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । कम्पनीले बैंक वित्तीय संस्थाबाट लिएको ऋण २ अर्ब ४२ करोड छ ।
नाफा वृद्धिसँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ४७ रुपैयाँ ९७ पैसा ऋणात्मक रहेको यस्तो आम्दानी चालु आवसम्ममा ३ रुपैयाँ ३ पैसा धनात्मक भएको छ ।
कम्पनीको खराब कर्जा पनि घटेको छ । गत आवको पुसमा ७ दशमलव १७ प्रतिशत रहेकोमा घटेर चालु आवको पुसमा ४ दशमलव १४ प्रतिशतमा झरेको छ ।
२५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा २ करोड २० लाख रुपैयाँ सञ्चित छ।
राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्थाले हाल २१ ओटा जिल्लामा ६० ओटा शाखामार्फत सेवा सञ्चालन गरिरहेको छ । कम्पनीमा हाल ३२ हजार ८३९ जना सदस्य र १८ हजार १९ जना ऋणी छन् ।