काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ६ वर्षदेखि रोकिएको मर्चेन्ट बैंकरको अनुमतिपत्र (लाइसेन्स) दिने काम पुनः सुचारु गरेको छ । बोर्डले प्रेस विज्ञप्ति जारी गरी उक्त कार्य पुनः सुचारु गर्ने निर्णय गरेको जानकारी दिएको हो ।
बोर्डका सहायक प्रवक्ता तोलाकान्त न्यौपानेद्वारा जारी विज्ञप्तिमा २०७५ साउन ८ गतेदेखि मर्चेन्ट बैंकरको लाइसेन्स प्रदान गर्ने कार्य रोकिएको थियो ।
धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) नियमावली, २०६४ बमोजिम मर्चेन्ट बैंकिङ व्यवसाय अन्तर्गतको निष्कासन तथा विक्री प्रबन्धक र शेयर रजिष्ट्रेशन सेवा सञ्चालन गर्न मर्चेन्ट बैंकर व्यवसायको अनुमति प्रदान गर्न बाटो बोर्डले खुला गरेको हो ।
साथै उक्त नियमावलीबमोजिम अनुमति प्राप्त संस्थाले सार्वजनिक निष्कासन गर्न चाहेमा नियमावली बमोजिमको व्यवसाय सञ्चालन गरेको १० वर्ष पूरा गरिसकेका कम्पनीले आईपीओ निष्कासन गर्न सक्ने व्यवस्था समेत बोर्डले गरेको छ ।
त्यस्ता कम्पनीले आईपीओ जारी गर्दा ३० प्रतिशतभन्दा कम नहुने गरी जारी गर्नुपर्ने व्यवस्था बोर्डले गरेको हो ।
व्यवसाय सञ्चालन गरेको १० वर्ष पूरा भई एक अर्ब रुपैयाँ चुक्तापूँजी कायम गरिसकेको अवस्थामा पनि ३० प्रतिशतभन्दा कम नहुने गरी नियमानुसार आईपीओ जारी गर्न सक्ने व्यवस्था भएको जानकारी बोर्डले दिएको छ ।
हाल नेपालमा ३१ ओटा मर्चेन्ट बैंकर कम्पनीहरूले सेवा प्रदान गरिरहेका छन् ।