काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनी तेस्रो त्रैमाससम्ममा रू. ७६ लाख ६६ हजार घाटामा रहेको छ । गत आवको यसै अवधिमा पनि कम्पनी रू. २१ लाख ३६ हजारमा घाटामा थियो । यस आधारमा कम्पनीको घाटा गत आवको तुलनामा चालू आवमा बढेको छ ।
त्यस्तै कम्पनीको खुद ब्याज आम्दानी पनि गत आवको तुलनामा चालू आवमा ७७ दशमलव ९२ प्रतिशत घटेको छ । गत आवमा कम्पनीले रू. १ करोड ९६ लाख खुद ब्याज आम्दानी गरेकोमा चालू आवमा घटेर रू. ४३ लाख ३३ हजारमा सिमित भएको हो ।
कम्पनीको चुक्ता पूँजी रू. ३ करोड ४६ लाख रहेको छ । तेस्रो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. १ करोड ५८ लाख सञ्चिती गरेको छ । सो अवधिमा कम्पनीले रू. ४३ करोड ८० लाख सापटि लिएर,रू. ९ करोड ९२ लाख निक्षेप संकलन गरेर रू. ९६ करोड भन्दा बढी कर्जा लगानी गरेको छ ।
कम्पनीको निष्क्रिय कर्जा गत आवमा भन्दा चालू आवमा केही घटेको छ । गत आवमा कम्पनीको निष्क्रिय कर्जा १२ दशमलव ७१ प्रतिशत रहेकोमा चालू आवमा ५ दशमलव ६५ प्रतिशतमा कायम भएको हो । यस कम्पनीले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएको छ । कम्पनीले ८० हजार कित्ता आईपीओ निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएको हो ।