काठमाडौं। सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसिटी अवार्डको ग्राण्ड फिनाले आज (शुक्रवार) हुने भएको छ । काठमाडौंमा हुने ‘इन्ड्राइभ आइसिटी अवार्ड २०२४ सपोर्टेड बाई एनसेल फाउन्डेसन इन एशोशिएसन विथ नेपालपे क्युआर, जेनस एण्ड जुम’मा विभिन्न १५ विधामा अवार्ड प्रदान गरिनेछ ।
सन् २०१६ देखि लिभिङ विथ आइसिटीले आयोजना गर्दै आइरहेको आइसिटी अवार्ड कार्यक्रम, विगत ६ महीनादेखि छनोट प्रक्रिया र प्रिइभेन्ट सम्पन्न गर्दै ग्राण्ड फिनालेसम्म आइपुगेको छ । फिनालेमा सूचना तथा सञ्चार प्रविधि क्षेत्रसँग सम्बन्धित स्टार्टअप, प्रडक्ट, इन्नोभेसन, उद्यमी, प्रोफेसनल, संघ संस्था गरी विभिन्न १५ विधाहरूमा विजेताको घोषणासँगै अवार्ड वितरण हुनेछ । यसैगरी सातै प्रदेशका उत्कृष्ट स्टार्टअपहरूलाई प्रोभिन्सियल स्टार्टअप आइसिटी रिकग्निसन २०२४ बाट समेत सम्मान गरिनेछ । अवार्डमा दक्षिण एसियाली देशहरूलाई लक्षित गरिएको साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड सार्क राष्ट्रको सर्वोत्कृष्ट स्टार्टअपलाई प्रदान गरिनेछ ।