चितवन। कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरद्वारा आयोजित ‘कृषि प्रदर्शनी तथा कृषक मेला–२०८१’ मा १४ हजार जनाले अवलोकन गरेका छन् । कृषि तथा वन विज्ञान विश्वविद्यालयको कृषि संकाय परिसरमा मङ्सिर २९ देखि शुरू भएको मेला बुधवार सम्पन्न भएको हो । मेला आयोजक कमिटीका सचिवालय संयोजक एवम् विश्वविद्यालयका अनुसन्धान तथा प्रसार निर्देशनालयका निर्देशक प्राडा ऋषिराम कट्टेलले मेला अवधि भर १४ हजार सहभागी भएको जानकारी दिए । मेलामा कृषि प्रविधि, ज्ञान र शीपको हस्तान्तरण भएको बताइएको छ ।
महोत्सवमा विश्वविद्यालयका विद्यार्थी, विभिन्न संकाय, कृषि उद्यमीका साथै केही व्यावसायिक स्टल गरी ९८ स्टल रहेका थिए । मेलामा नि:शुल्क माटो परीक्षण, रैथानी बाली प्रदर्शन, कृषि उपकरणको प्रदर्शनी, नि:शुल्क बाली एवम् पशु उपचार शिविर, बीउबिजन परीक्षण, बाली बीमा र कृषिकर्जा सम्बन्धी परामर्श, सरोकारवालाबीच विविध विषयमा अन्तरक्रिया तथा बहस, हाजिरी जवाफ प्रतियोगिता लगायतका गतिविधि भएका थिए ।
मेला आयोजक समिति संयोजक एवम् विश्वविद्यालयका उपकुलपति एवम् रजिष्ट्रार प्राडा शारदा थपलियाले ज्ञान, शीप र दक्षता अभिवृद्धि गर्ने उद्देश्यले मेला आयोजना गरिएको बताइन् । किसान, विद्यार्थी र अनुसन्धानकर्ताबीच छलफल तथा कृषि क्षेत्रमा देखिएका समस्याको समाधानका लागि यस्ता मेलाले थप योगदान दिने थपलियाको भनाइ छ ।