काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेड र सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले मर्जर प्रक्रिया पूरा गरी आजबाट एकीकृत कारोबार शुरु गरेका छन् ।
नेपाल राष्ट्र बैंकले जेठ २९ गते यी दुई कम्पनीहरूलाई मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेसँगै आइतवारदेखि सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार शुरु भएको हो ।
यी दुई कम्पनीबीच गत वैशाख १२ गते मर्जरका लागि अन्तिम सम्झौता भएको थियो । समान हैसियतमा एक भएका यी कम्पनीको चुक्ता पूँजी ७० करोड ८ लाख ५८ हजार रुपैयाँ कायम भएको छ ।
साविक साधना लघुवित्तको चुक्ता पूँजी ३८ करोड २२ लाख ५८ हजार रुपैयाँ थियो भने साविक सबैको लघुवित्तको ३१ करोड ८६ लाख रुपैयाँ थियो । यी दुवै कम्पनी धितोपत्र दोस्रो बजारमा सूचीकृत कम्पनी हुन् ।