केही वर्षदेखि चालू रूस–युक्रेन युद्ध र केही समययताको अमेरिका–चीन व्यापार युद्ध तथा तथा भारत–पाकिस्तान सैन्य झडपले संसार कुन दिशामा जान्छ भन्न नसकिने स्थिति छ । दोस्रो विश्वयुद्धपछि अमेरिकाले नै प्रवर्द्धन र संरक्षण गरेको उदार विश्व व्यवस्था र यसको अभिन्न अंगका रूपमा रहेको उदार विश्व अर्थव्यवस्था अहिले उसकै कारण धरापमा परेको छ । विश्व प्रहरीको भूमिकामा रहेर यी व्यवस्थाको प्रवर्द्धन र संरक्षण गर्दै आएको अमेरिकी राष्ट्रपतिमा पुनः डोनाल्ड ट्रप्प निर्वाचित भएपछि उनी यसलाई जरैदेखि भत्काउन उद्यत देखिएका छन् । अमेरिका विश्वका समस्या समाधान गर्नभन्दा अमेरिका फस्टको नीतिमा अगाडि बढेको छ । उदार विश्व व्यवस्थाविरुद्ध संरक्षणवादी नीति लिएको छ ।
उदार अर्थव्यवस्था भत्काउन उसले विश्व व्यापार संगठनलाई निस्तेज पारेको छ । विश्व प्रहरीका रूपमा अमेरिका पछि हटेको र नयाँ शक्तिले त्यो स्थान लिन नसकेको अवस्थामा विश्व व्यवस्था अहिले तरल देखिन्छ । कुनै हस्तक्षेपकारी शक्तिको अभावमा युद्धको खतरा बढेको देखिन्छ । विश्व अब केही वर्ष वा दशक तरल अवस्थामा रहने संकेत छ । यस्तो बेला सोचविचारका साथ काम गर्नुपर्छ । भू–राजनीतिक रूपले संवेदशनशील स्थानमा रहेको नेपालका लागि जोखिम र अवसर दुवै हुने हुँदा जोखिम न्यूनीकरण गर्दै अवसर सदुपयोग गर्न ध्यान केन्द्रित गर्नुपर्छ ।
- उच्च भन्सार हुँदाहुँदै पनि नेपालले जडीबुटीजन्य उत्पादन, विशेष चिया, सांस्कृतिक महत्त्वका हस्तकलाका वस्तुहरू विश्व बजारमा प्रस्तुत गर्न सक्छ ।
- व्यापार लागत न्यूनीकरण र दक्षता बढाउन यातायात, लजिस्टिक र भन्सार प्रक्रियाहरूको सरलीकरणमा राज्यको ध्यान जानुपर्छ ।
अमेरिकी व्यापार युद्धका कारण आपूर्ति शृंखलामा बदलाव आउने देखिन्छ । विश्व व्यापार संगठनले भन्सार दर घटाउने नीतिको प्रवर्द्धन गर्दै आए पनि एकपक्षीय रूपमा भन्सार दर बढाउने नीति अमेरिकाले शुरू गरेपछि अन्यले पनि त्यसै गर्ने सम्भावना छ । त्यसैले भन्सार दरमा हुने परिवर्तनबाट फाइदा लिनेतर्फ नेपालले ध्यान दिनु जरुरी छ ।
अमेरिकाले नेपाललगायत सबै मुलुकबाट आयात हुने वस्तुमा १० प्रतिशत आधारभूत भन्सार लगाएको छ । यसबाहेक पारस्परिक थप भन्सार पनि लगाएकोमा चीनबाहेक अन्यमा अधारभूतबाहेकको थप भन्सार ९० दिनका लागि फिर्ता लिएको छ । चिनियाँ वस्तुमा अमेरिकाले १४५ प्रतिशतसम्म र चीनले अमेरिकी वस्तुमा १२५ प्रतिशतसम्म भन्सार लगाएको छ । अमेरिका र चीनबीच यस सम्बन्धमा वार्ता भइरहे पनि भन्सार दर घट्छ/घट्दैन अहिल्यै भन्न सकिँदैन । भन्सार दरमा अमेरिकी नीति प्रस्ट छैन । अप्रिल २ मा अन्य प्रतिस्पर्धी देशलाई बढी भन्सार लगाउँदा अमेरिकामा नेपालको निर्यात बढ्ला कि भन्ने थियो । अहिले अमेरिकी अस्थिर नीतिका कारण अब के हुन्छ भन्न सकिँदैन ।
व्यापार युद्धबाट विश्व अर्थव्यवस्थामा सुस्ती आएमा ऊर्जा निर्यातमा निर्भर खाडी राष्ट्रहरू प्रभावित हुन सक्छन् । यसले विश्वव्यापी आर्थिक मन्दी निम्त्यायो भने विदेशमा काम गर्ने नेपालीले पठाउने रेमिट्यान्स र पर्यटक आगमनमा नकारात्मक प्रभाव पर्न सक्छ । नेपालले यी सम्भावित प्रभावलाई ध्यानमा राख्दै आकस्मिक उपायमा काम शुरू गर्न ढिलो गर्नु हुँदैन । सर्वप्रथम हामीले निर्यातको बजार विविधीकरणमा ध्यान दिनुपर्छ । हाम्रो निर्यातयोग्य वस्तुको प्रतिस्पर्धी क्षमता वृद्धि उहिल्यैदेखि नै आवश्यक ठानिए पनि यसमा खासै उपलब्धि हासिल भएको छैन । उच्च भन्सार हुँदाहुँदै पनि नेपालले जडीबुटीजन्य उत्पादन, विशेष चिया, सांस्कृतिक महत्त्वका हस्तकलाका वस्तुहरू विश्व बजारमा प्रस्तुत गर्न सक्छ । तिनको गुणस्तर अभिवृद्धि, प्याकेजिङ सुधार र अन्तरराष्ट्रिय मापदण्डअनुरूप बनाउनेतर्फ पनि हामीले काम गर्नुपर्छ ।
नेपाली उत्पादनका लागि राम्रो बजार पहुँच सुरक्षित गर्न अमेरिका लगायत अन्य मुलुकसँग द्विपक्षीय ग्राह्यतापूर्ण व्यापार सम्झौता गर्न सकिने ठाउँको खोजी अर्को विकल्प हुन सक्छ । व्यापार लागत न्यूनीकरण र दक्षता बढाउन यातायात, लजिस्टिक र भन्सार प्रक्रियाहरूको सरलीकरणमा राज्यको ध्यान जानुपर्छ । पर्यटक आगमन घट्न नदिने उपायहरूमा पनि काम गर्नुपर्छ ।
अर्कोतिर भारत र पाकिस्तानबीच युद्धविराम भए पनि तनाव कायमै रहेकाले फेरि युद्ध नभड्केला भन्न सकिँदैन । परिस्थति बिग्रँदै गएमा भारतले नेपालको आयात निर्यातका वस्तुमा पनि निगरानी बढाउन सक्छ । खुला सीमा भएकाले पाकिस्तानीहरूले दुई देशबीचको वस्तु व्यापारको दुरुपयोग गर्न सक्ने भयले भारतले थप निगरानी बढाएमा आयात निर्यात प्रभावित हुनसक्छ । त्यसैले यस्तो जोखिमलाई सम्बोधन गर्न पनि सरकारले पहल गर्नुपर्ने देखिन्छ ।