सगरमाथाको चुचुरोमा डोरी टाँग्ने काम सम्पन्न भएसँगै यस वर्षको सगरमाथा आरोहण औपचारिक रूपमा शुरू भएको छ । झन्डै साढे ४ सय जना यसपटक सगरमाथामा पुग्ने अनुमान गरिएको छ । अघिल्लो वर्षको यही सिजनमा ४२१ जनाले अनुमति लिएका थिए । सगरमाथा आरोहणबाट मात्रै ६५ करोड रोयल्टी सरकारी खातामा जम्मा भएको छ । सबै हिमालबाट ७८ करोड सङ्कलन भएको छ । हिमाल आरोहण नेपालको प्रमुख पर्यटन प्रडक्ट हो । नेपालमा व्यावसायिक पर्यटनको शुरुआत हिमाल र यससँग सम्बद्ध गतिविधिबाटै भएको हो । हिमाल आरोहणमा आएका विदेशीहरूले सफलता पाएर त्यससम्बन्धी समाचार र किताब लेखिए पनि विश्वभर नै नेपालप्रति आकर्षण बढेको हो । त्यसैले नेपालको पर्यटनको मेरूदण्ड नै हिमाल हो भन्दा हुन्छ । तर, पछिल्लो समय हिमाली पर्यटनको दिगोपनमा संशय पैदा हुन थालेको छ ।
विश्वमा कतिपय यस्ता पर्यटकीय क्षेत्र छन् जुन आगामी शताब्दीका मान्छेले नदेख्न सक्छन् । अन्तिम पर्यटकीय स्थलका रूपमा चिनिने यस्ता थुप्रै ठाउँ छन् । यस्तो गन्तव्यमा नेपालका हिमालय परेका छैनन् तर वैज्ञानिकहरूले अबको ५० वर्षपछि हिमाल हिउँविहीन हुने बताएर ठूलो चेतावनी दिएका छन् । त्यसो हो भने नेपालमा सगरमाथालगायत थेरै हिम चुचुरा अन्तिम पर्यटकीय गन्तव्य नहोलान् भन्न सकिँदैन । अर्थात् अर्को पुस्ताले यी ठाउँ नदेख्न पनि सक्छन् । त्यसैले हिमालमा परेको असरका बारेमा गम्भीर चिन्तनमन्थन गर्ने बेला आइसकेको छ । हिमालमा परेको असर पर्यटनसँग मात्र सम्बद्ध छैन यो समग्र हिमाली सभ्यता र यससँग जोडिएका करोडौं जनताको जनजीविका र अस्तित्वसँग गाँसिएको छ । त्यसैले नेपालको यो चिन्तालाई विश्वमा उजागर गर्न सगरमाथा संवाद गर्न थालिएको देखिन्छ ।
चिन्ता हिमालको
विश्वमा आएको पर्यावरणीय परिवर्तन र विश्व तापमानमा भएको वृद्धिले हिमालको आयु चिन्ताको विषय बनेको छ । विगतमा सेताम्य देखिने हिमाल अहिले कालापत्थर बन्दै गएको छ । यही चिन्ता विश्वलाई सुनाउन र देखाउन नेपालले पहल गरिरहेको छ । त्यसै सिलसिलामा सगरमाथा संवाद कार्यक्रम आयोजना गर्न लागिएको छ । आगामी जेठको पहिलो हप्ता काठमाडौंमा यो संवाद कार्यक्रम हुँदै छ जुन कोरोनाका कारण ५ वर्ष अघि रोकिएको थियो । नेपालले जलवायु परिवर्तनले पर्वतीय क्षेत्रमा पारेको असर बताउन सन् २०१९ मा यस्ता संवाद स्थापना गरिएको हो । नेपाल सरकारले स्थापना गरेको यो बहुपक्षीय मञ्चले विश्वव्यापी, क्षेत्रीय र राष्ट्रिय महŒवका विषयमा हरेक २ वर्षमा बहस गराउने गरेको छ ।
नेपालले आफूले नगरेको वातावरणीय क्षतिको ठूलो नोक्सानी बेहोर्नु परिरहेको छ । त्यसमध्ये एउटा हिमाली पर्यटन पनि हो । हिमाल हेर्न आएका पर्यटक कालो पत्थरमात्रै देखिँदा निकै निराश भएर फर्किएका छन् । माछापुच्छ्रे हिमालदेखि अन्य धेरै हिमालको हिउँ पातलिएको छ । कतिपय ठाउँमा काला पत्थर मात्रै देखिन्छ । हिउँदमा वर्षा नभएर हिउँ पर्न सकेको छैन । यसपटक पनि हिउँद पूरै सुक्खा भयो र हिमालमा हिउँ भरिन पाएन । त्यसैले यो हाम्रा लागि निकै चिन्ताको विषय हो ।
हिमाली पर्यटन
नेपालमा ४७६ ओटा हिमाल आरोहणका लागि खुला गरिएका छन् । यसमध्ये ५७ ओटा हिमाल यसै वर्ष मात्रै खुला गरिएको हो । खुला गरिएका हिमालमा सगरमाथासहित ८ हजार मीटर उचाइका हिमालसमेत पर्छन् । खुला भएकामध्ये आरोहण तथा पर्यटकीय गतिविधि भने अभैm सीमित हिमालमा केन्द्रित छ । ६८ ओटा हिमालमा अहिलेसम्म मानव पाइला पुगेकै छैन ।
- हिमालमा परेको असर पर्यटनसँग मात्र सम्बद्ध नभएर हिमाली सभ्यता र यससँग जोडिएका करोडौं जनताको जनजीविका र अस्तित्वसँग गाँसिएको छ ।
- ६८ ओटा हिमालमा अहिलेसम्म मानव पाइला पुगेकै छैन ।
- नेपाललाई साहसिक पर्यटनको क्षेत्र बनाउने हो भने हिमाली पर्यटनलाई पहिलो प्राथमिकतामा राख्नैपर्छ ।
- औसत बसाइ अवधि बढ्नुमा सबैभन्दा ठूलो योगदान हिमाली भेगको घुमफिरमा आउने पर्यटकको छ ।
- हिमाली पर्यटनले स्थानीय तहको अर्थतन्त्र चलायमान बनाउन र रोजगारी सृजना गर्न ठूलो योगदान पुर्याउँछ ।
नेपाललाई साहसिक पर्यटनको क्षेत्र बनाउने हो भने हिमाली पर्यटनलाई पहिलो प्राथमिकतामा राख्नैपर्छ । यसबाट नेपाल खर्चालु पर्यटकको गन्तव्य बन्न सक्छ । त्यसका लागि प्रचारप्रसारको तीव्रता बढाउन आवश्यक छ । त्यस्तै पर्यटन कूटनीतिलाई पनि उच्च प्राथमिकता दिनुपर्छ । पर्यटनसम्बन्धी लेख्ने लेखक, पत्रकार, भ्लगर आदिलाई नेपालमा आमन्त्रित गर्नुपर्छ । विदेशमा रहेका नेपालीलाई पनि नेपालको पर्यटनको प्रचारमा उपयोग गर्नुपर्छ । तिनले व्यक्तिगत रूपमा यस्तो काम गरे पनि त्यसलाई प्रभावकारी बनाउन तिनलाई केही सूचना र जानकारी दिने, प्रचार सामग्री तिनका हातमा पुग्ने हो भने पनि यसको प्रचारमा निकै बल पुग्ने देखिन्छ ।
नेपालभित्र आइसकेका पर्यटकले भोग्ने समस्यामा सरकार गम्भीर देखिएको छैन । सगरमाथा जाने पर्यटकले काठमाडौंबाट सीधै विमान सेवामा उड्न पाउँदैन, रामेछाप पुग्नुपर्छ । त्यस्तै पदयात्रा मार्ग बिग्रने गरी जथाभावी सडक खनिएका छन् । तिनलाई पीच नगर्दा पर्यटकले धूँवा र धूलोको सास्ती भोग्नुपर्छ । पदयात्रा भनेको प्रकृतिको नजिकमा हिँड्नु हो तर यसले प्रकृतिलाई नै बिथोलेको छ । त्यस्तै हिमाली क्षेत्रमा सडकबाट जानका लागि पनि स्तरीय सडक आवश्यक हुन्छ । त्यसरी सडकबाट जाँदा स्थानीय अर्थतन्त्रलाई पनि सकारात्मक योगदान मिल्छ ।
जतिसुकै खर्चालु पर्यटक आए पनि उसले आफ्नो लागत र सन्तुष्टिलाई विश्लेषण गर्छ । नेपाल सस्तो पर्यटन गन्तव्य भनिए पनि वास्तवमा त्यस्तो छैन । सरकारी नीतिका कारण नेपालको पर्यटन महँगो बनेको छ । हिमाली यात्राका लागि आउने पर्यटकले पनि हवाई भाडा हेर्छ । यो नै नेपालको पर्यटनको ठूलो समस्या हो । विदेशबाट नेपाल आउन महँगो छ अनि नेपालमा विदेशीलाई डलरमा बढी मूल्य लिइन्छ । विदेशी हुनाले थोरै बढी तिर्न कसैले पनि अनकनाउँदैन तर अत्यधिक बढी मूल्य तिर्न परेपछि भने उसले प्रश्न गर्छ नै । त्यसैले जेजस्तो स्वरूपको पर्यटन भए पनि हवाई भाडा र समय कम लाग्ने उपाय गर्न ढिला भइसकेको छ ।
हिमाली पर्यटनका फाइदा
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार नेपालमा अहिले पर्यटकको औसत बसाइ अवधि प्रतिपर्यटक १३ दशमलव २ दिन छ । औसत बसाइ अवधि बढ्नुमा सबैभन्दा ठूलो योगदान हिमाली भेगको घुमफिरमा आउने पर्यटकको छ । पर्वतारोहण र पदयात्राले यसमा सबैभन्दा धेरै भूमिका खेलेको छ ।
नेपालमा हिमाल चढ्न आउने पर्यटकमध्ये सगरमाथा आरोहणमा आउने पर्यटक कम्तीमा ६० दिन बस्ने अनुमान छ । यस्तै ८ हजार मीटरभन्दा अग्ला हिमाल चढ्ने आरोहीको न्यूनतम बसाइ ४०–४५ दिन र साना हिमाल चढ्नेहरूको औसत नेपाल बसाइ औसत ३० देखि ३५ दिन हुन्छ । हिमाली पर्यटनले स्थानीय तहको अर्थतन्त्र चलायमान बनाउन र रोजगारी सृजना गर्न ठूलो योगदान पुर्याउँछ ।
सरकारले हिमाल आरोहण दस्तुर बढाएको छ । जारी सिजनसम्म पुरानै दस्तुर तिरेर आरोहण गर्न सकिन्छ । बढेको दस्तुर भने आगामी १ सेप्टेम्बर २०२५ (१६ भदौ २०८२) बाट लागू हुनेछ । अहिले सरकारले वसन्तु ऋतुमा सगरमाथा आरोहण गर्न प्रतिपर्यटक ११ हजार डलर (करीब १५ लाख ३२ हजार) लिन्छ । यसलाई बढाएर प्रतिपर्यटक १५ हजार डलर (२० लाख ९ हजार हाराहारी) पुर्याइँदै छ । यस्तै दरमा सबै हिमालको आरोहण दस्तुर बढ्दै छ । सगरमाथा आरोहणमा आउने पर्यटकले औसत ४० लाखभन्दा बढी रकम नेपालमा खर्च गर्छन् ।
हिमालकौ कारण हवाई सेवा उद्योग पनि चल्छ । सगरमाथा (खुम्बु) क्षेत्र र अन्नपूर्ण क्षेत्र हवाई उद्योगका लागि वरदान सावित भएको छ । त्यस्तै हिमालका आतिथ्य सेवा पनि चम्कन्छ । काठमाडौंका पाँचतारे होटेलदेखि पदयात्रा मार्गमा खोलिएका झुपडीका चियापसलसम्मले यसको लाभ लिएका छन् । पर्यटन सिजनमा मुख्य गन्तव्यका होटेल भरिभराउ हुन्छन् । यसले रोजगारी सृजनामा मात्रै योगदान गरेको छैन, राज्यलाई राजस्वमा पनि उत्तिकै योगदान गरेको छ । साथै स्थानीय उत्पादनको खपत पनि बढाएको छ ।
हिमाल र पर्वतीय क्षेत्रमा पर्यटनले लाभ मात्र दिएको छैन समस्या पनि पैदा गरेको छ । पैसा तिरेपछि हिमालमा जे गरे पनि हुन्छ भन्ने सोचले त्यो क्षेत्रमा फोहोर थुप्रिएको छ । यो नेपालको हिमाली पर्यटन र समग्र पर्यटन उद्योगका लागि खतराको शुरुआत हो । हिमाल सरसफाइका नाममा प्रतिआरोही लाखौं रुपैयाँ असुल भए पनि सरसफाइ हुँदैन । त्यस्तो रकम दुरुपयोग भएको देखिन्छ । पदयात्रा मार्गहरू मासिनु, क्याम्पेनहरू मासिएर जहाँतहीँ होटेल र होम स्टे विस्तार भएपछि यस्तै अनुभवका लागि अब पर्यटक नेपाल नआउने अवस्था बनेको छ । नेपालको पर्यटनको आधार नै हिमाल भएकाले सरकारले प्रभावकारी नीति बनाएर नेपालको हिमाल, हिमाली संस्कृति र पदयात्रा तथा पर्वतारोहणलाई जीवन्त राख्न ढिला गर्नु हुँदैन । नेपाललाई विश्वसमामु चिनाउने हाम्रा हिमालमा दिनप्रतिदिन जोखिम बढिरहेको छ । हिमताल फुटिरहेका छन् । हिमाल बचाउन र हिमाली क्षेत्रमा बढिरहेको जोखिम न्यूनीकरणका लागि विश्व समुदायको ध्यान तान्न आवश्यक छ र नेपालले पनि विशेष नीति बनाउन ढिला भइसकेको छ ।
लेखक पर्यटन व्यवसायी हुन् ।