काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित एनआईसी एशिया ग्रोथ फण्ड २ ले साउन मसान्तसम्म १४ करोड ३ लाख रुपैयाँभन्दा बढी नाफा गरेको छ । असार मसान्तसम्म ६० लाख ७८ हजार रुपैयाँ नाफा गरेको यस योजनाले साउनमा भने नाफा उल्लेख्य मात्रामा बढाएको हो ।
साउनमा योजनाको जम्मा आम्दानी १४ करोड २२ लाख रुपैयाँभन्दा बढी भएको छ भने जम्मा खर्च १८ लाख ६१ हजार रुपैयाँ भएको छ । असारमा योजनाले २ करोड १७ लाख रुपैयाँभन्दा बढी जम्मा आम्दानी गरेको थियो भने १ करोड ५७ लाख रुपैयाँभन्दा बढी खर्च गरेको थियो । आम्दानी बढी र खर्च कम भएसँगै साउनमा योजनाको नाफामा उल्लेख्य बृद्धि हुन सहयोग मिलेको हो ।
नाफासँगै योजनाको प्रति इकाई खुद सम्पत्ति मूल्य पनि बढी भएको छ । असार मसान्तसम्म १० रुपैयाँ ७ पैसा रहेको प्रति शेयर खुद सम्पत्ति मूल्य साउन मसान्तसम्म भने ११ रुपैयाँ ५१ पैसा कायम भएको हो ।
सात वर्षे अवधिको यस योजनाले ९ करोड ५ लाख कित्ता इकाई जारी गरेको थियो ।
गत मंसिरदेखि सञ्चालनमा आएका यस योजनाले यस वर्ष प्रतिफल वितरण नगर्ने भएको छ । धितोपत्र बजारमा लगानी गर्ने प्रमुख उदेश्य सहित सञ्चालित यस योजनाले साउन मसान्तसम्म धितोपत्रमा गरेको लगानीको परलमूल्य ५० करोड ९४ लाख रुपैयाँभन्दा बढी रहेको छ । योजनाको लगानीको बजारमूल्य भने ६५ करोड २ लाख रुपैयाँभन्दा बढी छ । बैंक मुद्दती निक्षेपमा भने योजनाले १२ करोड ५० लाख रुपैयाँ लगानी गरेको छ ।