काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत उत्पादन तथा प्रशोधन समूहका ८ कम्पनीले चालू आर्थिक वर्ष (आव)को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । उक्त विवरण अनुसार चार कम्पनी नाफामा छन् भने चार कम्पनी नै घाटामा छन् ।
युनिलिभर नेपाल, हिमालयन डिष्टिलरी, शिवम् सिमेन्ट्स र नेपाल ल्यूव आयल लिमिटेड नाफामा रहेका छन् भने बोटलर्स नेपाल (तराई), सोनापुर मिनरल्स् एण्ड आयल, बोटलर्स नेपाल (बालाजु) र घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेड घाटामा रहेका हुन् ।
यी आठ कम्पनीको आम्दानी पनि गत आवको तुलनामा चालू आवमा ११ दशमलव ४५ प्रतिशतले घटेको छ । गत आवमा यी आठ कम्पनीको सञ्चालन आम्दानी कुल रू. २० अर्ब ८५ करोड रहेकोमा चालू आवमा घटेर रू. १८ अर्ब ४७ करोडमा झरेको हो ।
उपभोक्ताको क्रय शक्तिमा आएको ह्रास, उत्पादन लागतमा वृद्धि, माग तथा खपतमा गिरावट लगायतका कारणले समग्र व्यापार व्यवसायमा संकुचन भएका कारण उत्पादन क्षेत्रका कम्पनीको नाफा प्रभावित भएको देखिन्छ ।
युनिलिभर नेपालले चालूू आवको दोस्रो त्रैमाससम्ममा रू. ४२ करोड १० लाख नाफा कमाएको छ । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्म रू. ५५ करोड २५ लाख नाफा कमाएको थियो । कम्पनीको नाफा गत आवको तुलनामा चालू आवमा २३ दशमलव ८० प्रतिशतले घटेको हो ।
त्यस्तै दोस्रोमा हिमालयन डिष्टिलरीको नाफा पनि गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवमा ४४ दशमलव ३८ प्रतिशत घटेकोे छ । गत आवमा कम्पनीले रू. २९ करोड ४२ लाख नाफा कमाएकोमा चालू आवमा रू. १६ करोड ३६ लाखमा सीमित भएको हो ।
शिवम् सिमेन्ट्सले पनि गत आवमा रू. ४५ करोड ९६ लाख नाफा कमाएकोमा चालू आवमा घटेर रू. १४ करोड ८५ लाखमा झरेको छ । नेपाल ल्यूव आयल भने गत वर्ष रू. १० लाख २ हजार घाटामा रहेकोमा चालू आवमा रू. ७८ लाख ६५ हजार नाफामा गएको हो ।