काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले यही साउन २७ गतेदेखि हकप्रद शेयर निष्कासन तथा विक्री खुला गर्ने भएको छ ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको १५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको हो । अर्थात् कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर नयाँ १५ कित्ता अनुपातमा हकप्रद शेयर निष्कासन गर्न लागेको हो । यस अनुसार कम्पनीले १ अर्ब २० करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड २० लाख कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ ।
हकप्रद शेयर निष्कासन प्रयोजनको लागि कम्पनीले साउन १ गते बुक क्लोज गरेको थियो। यस अनुसार असार ३१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरूले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद शेयरमा भदौ १६ गतेसम्म आवेदन दिन सकिनेछ ।
हकप्रद निष्कासनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग बी माइनस प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व वहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।
कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । लगानीकर्ताले विक्री प्रबन्धकका साथै प्राइम कमर्सियल बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक र कुमारी बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट सिआस्वा प्रणालीमार्फत र सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर मेरो शेयर अनलाइन प्रयोग गरेर पनि आवेदन दिन सकिनेछ ।
हाल कम्पनीको चुक्ता पूँजी ८० करोड रुपैयाँ छ । हकप्रद निष्कासन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।
कम्पनीले हकप्रद शेयर निष्कासनबाट प्राप्त हुने रकममध्ये ८० करोड रुपैयाँ गणेश हिमाल हाइड्रोपावर कम्पनीद्वारा प्रवर्द्धित आँखुखोला २ जलविद्युत आयोजनामा कम्तीमा ६० प्रतिशत शेयर स्वामित्व हुने गरी स्वपूँजी लगानी गर्नेछ भने बाँकी रहेको ४० करोड रुपैयाँ कम्पनीद्वारा निर्मित आँखुखोला १ आयोजना निर्माणका लागि बैंकबाट लिएको दीर्घकालीन ऋणको आंशिक भुक्तानी गर्न प्रयोग गर्नेछ ।