चितवन । आर्थिक सुस्तीका कारण गत आर्थिक वर्ष (आव) २०८०/८१ मा चितवनको राजस्व संकलनमा ह्रास आएको छ । आन्तरिक राजस्व कार्यालय, भरतपुरका अनुसार चितवनमा गत आवमा राजस्व संकलन पाँच प्रतिशतले घटेको छ । कार्यालयका अनुसार गत आवमा लक्ष्यको ७३ दशमलव ६४ प्रतिशत मात्र राजस्व संकलन भएको छ । अघिल्लो आव २०७९/८० मा लक्ष्यको ७७ दशमलव ९४ प्रतिशत राजस्व संकलन असुली भएको थियो । गत आवमा मूल्य अभिवृद्धिकर (भ्याट) र अन्त:शुल्क कर संकलनमा ठूलो कमी आएको छ ।
राजस्व कार्यालयले गत आवमा २७ अर्ब ९२ करोड ८७ लाख ४९ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा २० अर्ब ५६ करोड ७१ लाख २३ हजार रुपैयाँ मात्र संकलन हुन सक्यो । अघिल्लो आवको तुलनामा गत आवमा करीब ९ करोड रुपैयाँ बढी राजस्व संकलन भएको देखिन्छ । अघिल्लो आवमा २० अर्ब ४७ करोड ६ लाख २३ हजार रुपैयाँ राजस्व संकलन भएको थियो ।
गत आवमा आयकर दुई अर्ब ६३ करोड १६ लाख ८१ हजार (८८ दशमलव ७९ प्रतिशत), भ्याट एक अर्ब ९५ करोड २२ लाख २३ हजार (८५ दशमलव ५३ प्रतिशत) र अन्त:शुल्क कर १५ अर्ब ७९ करोड ८२ लाख ६३ हजार रुपैयाँ (७० दशमलव ७० प्रतिशत) राजस्व संकलन भएको आन्तरिक राजस्व कार्यालय, भरतपुरका कर अधिकृत गंगाराम अर्यालले जानकारी दिए ।
त्यसैगरी बहाल कर चार करोड तीन लाख ४३ हजार (६६ दशमलव ६१ प्रतिशत), ब्याज कर ११ करोड ८५ लाख चार हजार (६४ दशमलव ४५ प्रतिशत), स्वास्थ्यसेवा कर दुई करोड ३२ लाख ५४ हजार (५९ दशमलव ५१ प्रतिशत) र अन्य कर २८ लाख ३६ हजार रुपैयाँ संकलन भएको उनले बताए । कार्यालयले विशेषगरी अन्त:शुल्क करबापत धेरै राजस्व उठाउने गर्छ । अघिल्लो आवको तुलनामा गत आवमा अन्त:शुल्क कर ६ प्रतिशतले घटेको छ भने भ्याट दुई प्रतिशतले बढेको देखिन्छ ।
लक्ष्यभन्दा कम राजस्व उठ्नुमा प्रमुख कारण आर्थिक शिथिलता नै भएको कर अधिकृत कुसुम सिर्मल बताउँछन् । ‘चितवनमा राजस्वको सबैभन्दा धेरै हिस्सा अन्त:शुल्क करको हुन्छ । आर्थिक मन्दीकै कारण मदिराको खपत घट्दा राजस्व पनि घटेको हो,’ उनले भने, ‘उद्योगहरूले उत्पादन गरेको मदिरा बजार पठाउनुअघि मदिराको शक्ति र परिमाणको आधारमा राजस्व बुझाउनुपर्छ । मदिराको खपत घटेकाले बजारमा धेरै मदिरा पठाउन नसकिएको उद्योगीहरूले बताएका छन् ।’
गत आवमा संकलन भएको कुल राजस्वको ७६ दशमलव ८१ प्रतिशत हिस्सा अन्त:शुल्कको रहेको छ, जुन मदिराबाट प्राप्त हुने राजस्व हो । मदिराको खपत घट्दा राजस्व संकलनमा ठूलो ह्रास आएको उनी बताउँछन् । निर्माण व्यवसायीले भुक्तानी नपाउँदा पनि राजस्व संकलन घटेको उनको भनाइ छ ।
चितवनमा एक लाख ४९ हजार ६५१ जनाले व्यक्तिगत स्थायी लेखा नम्बर (पान) लिएका छन् भने ४५ हजार ८८९ जना सक्रिय व्यावसायिक करदाता रहेका छन् ।