काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
विवरणअनुसार कम्पनी चालू आवको तेस्रो त्रैमाससम्म रू. ५६ लाख ९१ हजार नोक्सानीमा रहेको छ । गत आवको तेस्रो त्रैमाससम्म भने कम्पनी रू. ४ करोड ९२ लाख नाफामा थियो । चालू आवमा कम्पनीको इम्पेयरमेन्ट चार्ज बढेकाले नोक्सानीमा गएको हो । गत आवमा रू. १ करोड ८८ लाख रहेको कम्पनीको इम्पेयरमेन्ट चार्ज चालू आवमा रू. २ करोड ५८ लाख पुगेको छ ।
सोही कारण कम्पनीको सञ्चालन नाफा पनि ऋणात्मक रहेको छ । त्यस्तै कम्पनीको खुद ब्याज आम्दानी गत आवको तुलनामा चालू आवमा २७ दशमलव ९२ प्रतिशत घटेको छ । गत आवमा कम्पनीले रू. २६ करोड ८८ लाख खुद ब्याज आम्दानी गरेकोमा चालू आवमा रू. १९ करोड ३७ लाखमा झरेको छ ।
कम्पनी नोक्सानीमा रहेसँगै प्रतिशेयर आम्दानी २ रूपैयाँ ७ पैसा ऋणात्मक रहेको छ । चुक्तापूँजी रू. ३६ करोड ७१ लाख रहेको कम्पनीले जगेडामा रू. १२ करोड १५ लाख र रिटेन्ड अर्निङमा रू.३ करोड ४ लाखभन्दा बढी सञ्चित गरेको छ ।
कम्पनीले रू. १ अर्ब ५५ करोडभन्दा बढी निक्षेप संकलन र रू. २ अर्ब ९८ करोड सापटी लिएर रू. ४ अर्ब ८१ करोडभन्दा बढी कर्जा लगानी गरेको हो । चालू आवको तेस्रो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा रू. ६१ लाख ४८ हजार रहेको छ । सो अवधिमा कम्पनीको तरलता अनुपात ५ दशमलव २४ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १४१ दशमलव ३९ रहेको छ ।