काठमाडौं । नेप्से परिसूचक घट्ने क्रमले आज (बुधवार) पनि निरन्तरता पाएको छ । गत बिहीवारदेखि घट्न थालेको बजार आज १३ दशमलव ९६ अंकले घटेर २ हजार ६२० दशमलव २७ विन्दुमा बन्द भएको हो । आज २ हजार ६४२ दशमलव ९६ विन्दुसम्म पुगेको बजार २ हजार ६१९ दशमलव ६४ विन्दुसम्म झरेको थियो ।
चार कारोबार दिन घटेको बजार भोलि (बिहीवार) भने बढ्ने संकेत जानकारहरूले गरेका छन् । पछिल्लो समयको कारोबार प्रकृतिलाई हेर्दा ४ देखि ५ दिनसम्म बजार घट्दा पुनः सुधारिएको अवस्था हेर्दा बिहीवार बजार बढ्ने संकेत जानकारहरूले गरेका हुन् ।
बुधवारको कारोबारलाई लिएर बनेको मैनबत्ति विश्लेषण हेर्दा लामो टुप्पो भएको रातो मैनबत्ति बनेको छ । यस्तो मैनबत्तिले बजार सुधारिने सम्भावना कम रहे पनि कुनै सूचनाको प्रभाव भएमा लगानीकर्ताको मनोबल बढ्ने संकेत गर्दछ ।
बुधवार ६२ कम्पनीको धितोपत्र मूल्य बढेको छ भने १८३ कम्पनीको घटेको छ । आज एउटा कम्पनी मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य मात्र स्थिर रहेको छ । घटेको बजारमा ओम मेगाश्री फर्मास्युटिकल्सको शेयरमूल्य ९ दशमलव ९८ प्रतिशत बढेको छ ।
यसअघि निरन्तर उच्च दरमा बढ्दै आएको क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमूल्यको उच्च वृद्धिमा भने बुधवार ब्रेक लागेको छ । मंगलवारसम्म उच्च दरमा मूल्य बढेको क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमूल्य बुधवार ७ दशमलव ५५ प्रतिशत घटेको छ ।
आज तीन कम्पनीको शेयरमूल्य उच्च दरमा घटेको छ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको ९ दशमलव ९८ प्रतिशत, नेपाल माइक्रो इन्स्योरेन्सको ९ दशमलव ७१ प्रतिशत र बाराही हाइड्रोपावरको ९ दशमलव २६ प्रतिशत शेयरमूल्य घटेको हो ।
बजार घटेसँगै कारोबार रकमसमेत घटिरहेको छ । मंगलवार ९ अर्ब ६३ करोड ४८ लाख रुपैयाँभन्दा बढीको २ करोड १८ लाख २८ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा आज ८ अर्ब ७३ करोड ६५ लाख रुपैयाँभन्दा बढीको १ करोड ८४ लाख ९६ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको हो । आज कुल कारोबारमा राधी विद्युत कम्पनीले सर्वाधिक हिस्सा ओगटेको छ । राधी विद्युत् कम्पनीको सर्वाधिक ५९ करोड ३२ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको हो ।
आज कुल बजार पूँजीकरण ४३ खर्ब ५८ अर्ब ७१ करोड रुपैयाँभन्दा बढी कायम भएको छ । मंगलवार कुल बजार पूँजीकरण ४३ खर्ब ८१ अर्ब ९४ करोड ४१ लाख रुपैयाँभन्दा बढी रहेको थियो । बजार घटेसँगै कुल बजार पूँजीकरण पनि घट्न पुगेको हो ।
आज अन्य समूहको परिसूचक २ दशमलव ४६ प्रतिशत र विकास बैंकको परिसूचक १ दशमलव १९ प्रतिशत बढेको छ । यीबाहेक बाँकी समूहको परिसूचक भने घटेको छ । आज सबैभन्दा बढी जलविद्युत् समूहको परिसूचक १ दशमलव ९६ प्रतिशत घटेको हो ।