चीन र भारत जो हामीलाई निर्यात गर्ने राष्ट्र हुन्, त्यहाँ आर्थिक मन्दी भएर सामान सस्तिएपछि नेपालमा पनि सामान सस्तो हुनुपर्ने हो । तर, अहिले त्यस्तो भएको छैन । निर्यात अर्थतन्त्रमा निर्भर भएको भए नेपालमा आर्थिक मन्दी सहज मानिन्थ्यो । तर, अहिले जे भइरहेको छ यो उल्टो आर्थिक मन्दी हो, जसलाई सहज मान्न सकिँदैन । जग्गा कारोबारमा मन्दी आएर, बैंकबाट ऋण प्राप्तिमा कठिनाइ भएर, निक्षेप तथा कर्जा दुवैको ब्याजदर डरलाग्दोसँग बढेर वा पर्यटक आगमन घटेर वा विकास बजेट खर्च हुन नसकेर के कारणले मन्दीको अवस्था देखिएको छ, गहन अनुसन्धानको आवश्यकता छ ।
मन्दी भनेको जनताको खरीद क्षमता समाप्त हुनु मात्र होइन, नयाँ वस्तु उपभोगमा चाख नहुनु पनि हो ।
सोझो अर्थमा आर्थिक मन्दी भनेको उत्पादित वस्तु तथा सेवाको विक्री नहुनु हो । उत्पादन बढी रहेको हुन्छ तर ग्राहकको क्रयशक्ति कम भएको कारण वस्तु विक्री भएको हुँदैन । वस्तु नबिकेपछि उत्पादक र सेवाप्रदायकसँग कच्चा पदार्थ किन्न, श्रमिकलाई ज्याला दिन कार्यशील पूँजीको अभाव हुन जान्छ । गोदाममा सामान थुप्रिइरहन्छ । परम्परागत अर्थतन्त्रमा यसैलाई मुख्य रूपमा मन्दीको कारक मानिथ्यो । जुन आज पनि मन्दीको महत्त्वपूर्ण कारणका रूपमा हेरिन्छ ।
नेपालमा उद्योगको संख्या र उत्पादकत्व निकै दयनीय अवस्थामा छ । उत्पादन र निर्यात अर्थतन्त्र त्यस्तो बलियो अवस्थामा छैन । यस्तो अवस्थामा देश आर्थिक मन्दीको चपेटा नपर्नु पर्ने हो । शेयरबजार जुन तरीकाले ३२०० को विन्दुबाट १८०० वरपर झरेको छ जुन मन्दीको संकेत नै हो । बैंकमा पर्याप्त तरलता नहुनु, ऋण प्राप्ति कडाइ हुनु र घरजग्गा कारोबार लगभग ठप्प हुनु पनि मन्दीको संकेत हो । यो उत्पादन र अनुत्पादनसँग सम्बद्ध छैन । यो बैंक ऋण र ब्याजदरसँग सम्बद्ध विषय हो । नेपालमा पछिल्लो समयमा जग्गा जुन तीव्रताका साथ बढ्यो त्यो अस्वाभाविक थियो र कुनै न कुनै रूपमा रोक्नुपर्ने नै थियो । ऋण सुविधा नपाएको कारणले रोकियो । तर, त्यसले अन्य आर्थिक गतिविधिमा पनि कमी ल्यायो ।
मन्दी भनेको जनताको खरीद क्षमता समाप्त हुनु मात्र होइन, नयाँ वस्तु उपभोगमा चाख नहुनु पनि हो । हरेक कुरामा चाख गोजीमा रहेको नगदले निर्धारण गर्ने भएकाले मौद्रिक र आर्थिक नीतिका निर्धारकहरूले समस्याको जरो अनुसन्धान गरी कुन कारणबाट देश मन्दीतर्फ गएको छ, गहिराइबाट अध्ययन गर्न जरुरी छ ।
नेपालमा उत्पादित वस्तु निर्यात हुन नसकेर मन्दीतर्फ धकेलिएको होइन । ब्याजदर, महँगी, ऋणयोग्य निक्षेपमा कमी, विकास बजेट खर्च नहुनु आदि कारण हुन् । यी सबैमध्ये कुन कारण बढी सत्यको नजिक छ अनुसन्धान हुनुपर्यो । मौद्रिक नीति, करनीति, वित्तीय नीति, पर्यटन नीति, वाणिज्य नीतिमध्ये कुनै एक वा जोडी समस्या नभएसम्म अहिले जस्तो महँगी बढ्ने र शेयर घट्ने अवस्था आउँदैन ।
अर्थतन्त्रका सम्पूर्ण अवयवमध्ये कुनै वा केही प्रणालीमा अवरोध छ । त्यही कारणले नेपालको अर्थतन्त्र गतिशील हुन सकेको छैन । तर, हामी अनुसन्धानविना अनुमानमा सट्टा लगाइरहेका छौ । कुलोमा सिँचाइयोग्य पानी भएन भने धानको उत्पादनमात्र नघटेर डिलडालको भुइँघास र डालेघाँस पनि वैलाउन थाल्छ । नेपालको अर्थतन्त्रमा पनि त्यस्तै बहुपक्षीय असफलताको अवस्था आएको छ । यसको खोजी गर्नुपर्ने निकाय निदाएको छ ।
हरेक घटना हुनुमा कुनै कारण अवश्य हुन्छ । ठूला देश तथा आईएमएफजस्ता निकायले हरेक कारणमध्ये मूल कारण खोजीमा अध्ययन अनुसन्धान गर्छन् । नेपालमा सरदरमा हरेक कुराको सतही अनुमान मात्र गरिन्छ । यसैले देशको अर्थतन्त्र आज मन्दीको अवस्थामा छ र समग्रमा गरीबीको अवस्थामा छ भन्दा अतिशयोक्ति हुँदैन ।
त्यसैले कुनै आर्थिक घटनाले सकारात्मक वा नकारात्मक अवस्था सृजना गर्छ । त्यसको कारण अनुसन्धान गर्ने अभ्यासको शुरुआत गरौं । कुनै नीति, घटना, कार्यक्रमले हाम्रो अर्थतन्त्र राम्रो अवस्थामा आइरहेको छ भने त्यसमा थप सुधार गर्ने र नकारात्मक परिवेश आयो भने त्यसलाई रोक्ने प्रयास गर्न जरुरी हुन्छ । यसका लागि समस्याको जरो खोजौं ।
जग्गाको मूल्य रातारात बढ्नु पक्कै पनि नकारात्मक विषय हो । तर, यसको कारोबार नै सेलाउनु पक्कै पनि राम्रो होइन । विलासिताका सामान आयात रोक्नु, मदिरा, चुरोट आदि प्रतिबन्ध हरेक कोणबाट सही नहुन पनि सक्छ । ज्यादै राम्रो हुन पनि सक्छ । भारतको विहारमा मदिरा प्रतिबन्ध गरियो तर त्यही राज्यमा विषालु मदिरा पिएर ७२ जनाको मृत्यु पनि भयो । यसको अर्थ मदिरा रोक्नाले समाजमा ज्यादै ठूलो प्रगति भयो, जनता उत्पादन, व्यापारतिर लागेको देखियो भने ठीक हो । यसको उल्टो चोरीको मदिरा पनि बिक्ने र राजस्व पनि रोकिने अवस्था भयो भने पक्कै पनि लाभदायक नहोला । जसरी हुन्छ यथार्थलाई गुम्सिन नदिऊँ कारण खोजौं । यस्ता विषयमा तुलनात्मक लाभहानिको समीक्षा गरौं ।
जेजस्ता नीति बनाइन्छ र जेजस्तो आर्थिक घटना हुँदै जान्छ ती सबै अकारण भएका छैनन् । ती विविध कारणले भइरहेका छन् भन्ने बारेमा जिम्मेवार निकायबाट खोजी गरौं । अर्थतन्त्रलाई स्वस्फूर्त चल्न दिन यसका सबल र दुर्बल पक्ष दुवैको खोजी गर्दै जानुपर्छ । महँगी बढेको सूचना मात्र सम्प्रेषण गर्नुभन्दा त्यसको कारणको खोजी र समाधानमा ध्यान दिनुपर्छ ।
आर्थिक मन्दीका कारण सधैं माथि उल्लेख गरिए झैं नहुन पनि सक्छ । सामाजिक र कानूनी वातावरणले पनि मन्दी निम्तिएको हुन सक्छ । नेपालमा उद्यमीलाई भन्दा नोकरीवालालाई बढी राम्रो र इज्जतदार मानिन्छ । आफ्नै देशमा मालिक बन्ने प्रयासलाई भन्दा विदेश जाने प्रवृत्तिलाई राम्रो मानिन्छ । यो र यस्तै कारणले पनि त मन्दी मौलाएको हुनसक्छ । गहिराइबाट खोजविन गर्न शुरू गरौं । समस्या पत्ता लगाइसकेपछि समाधान खोज्न सहज हुन्छ । कुनै रोग औषधीविनाको छैन, जरुरी छ खोज र अनुसन्धानको ।
लेखक कैलाशकूट बहुमुखी क्याम्पसमा व्यवस्थापन विषय अध्यापन गर्छन् ।