नेपालको शहरीकरण दक्षिण एशियामै तीव्र गतिले बढिरहेको प्रतिवेदन विश्व बैंकले सार्वजनिक गरेको छ । तर, नेपाल विश्वमा अति कम शहरीकरण भएको मुलुकमध्येमा पर्छ । यस किसिमको न्यून शहर भएको मुलुकमा तीव्र दरले शहरीकरण हुनुलाई अस्वाभाविक मान्नु हुँदैन । तर, नेपालको सबैभन्दा ठूलो समस्या भनेको बढ्दो रूपमा रहेको शहरीकरणले देशको आर्थिक विकासलाई उच्च बनाउन जति सक्नुपर्ने हो, त्यति सहयोग गरेको देखिंदैन ।
वास्तवमा नेपालको शहरीकरण नितान्त बसाइसराइमा आधारित छ र यसले शहरमा सम्भावनाभन्दा पनि समस्या सृजना गरेको छ । दोस्रो जीवनस्तर सर्वेक्षण २००३–०४ मा ९ प्रतिशत रहेको शहरी गरीबी अहिले आएर १५ प्रतिशतमा पुग्नुले पनि यही कुराको संकेत गर्छ । अर्कातिर, देशमा बढ्दो शहरीकरणले ऐतिहासिक तथा प्राकृतिक सम्पदाहरू, भूउपयोगको अवस्था तथा सामाजिक–सांस्कृतिक चुनौती खडा गर्ने काम गरिरहेको छ ।
यसको अर्थ देशमा बढ्दो शहरीकरणका नकारात्मक असर मात्रै छन् भन्ने होइन । तर, देशको शहरीकरणलाई व्यवस्थित बनाउने र आर्थिक विकास तथा गरीबी न्यूनीकरणलाई सघाउ पुर्याउने खालको बनाउनेतर्फ सरकार तथा योजनाविद्हरूले काम
शुरू गर्न ढिलो भइसकेको छ । यस अध्ययनले यो आवश्यकतालाई पुन: पुष्टि गरेको छ ।
(सम्पादकीयबाट)
वर्ष ६, अंक २३६, बिहीवार, २८ वैशाख, २०६९