काठमाडौं । आरविवि म्युचुअल फण्डअन्तर्गत सञ्चालित आरविवि म्युचुअल फण्ड २ असोज मसान्तसम्म १ करोड ७२ लाख रुपैयाँभन्दा बढी नोक्सानीमा रहेको छ । भदौ मसान्तसम्म ४८ लाख १० हजार रुपैयाँभन्दा बढी नोक्सानीमा रहेको फण्डको असोज मसान्तसम्म नोक्सानी बढेको हो ।
असोज मसान्तसम्म १ करोड ३३ लाखभन्दा बढी जम्मा आम्दानी ऋणात्मक रहेको फण्डले यस अवधिसम्म ३९ लाख ७ हजार रुपैयाँ खर्च गरेको छ । फण्डको प्रतिइकाई खुद मूल्य पनि भदौको तुलनामा असोजमा घटेको छ । भदौ मसान्तसम्म १० रुपैयाँ २ पैसा रहेको फण्डको प्रतिइकाई खुद मूल्य असोज मसान्तसम्म ९ रुपैयाँ ८८ पैसा छ ।
१० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस फण्डले ८ करोड ४६ लाख ११ हजार ९२९ इकाई जारी गरेको थियो । धितोपत्रमा लगानी गर्ने मुख्य उद्देश्यसहित सञ्चालनमा रहेको यस फण्डले असोज मसान्तसम्म धितोपत्र दलाल कमिसनसहित धितोपत्रमा गरेको लगानीको परल मूल्य ४३ करोड ५० लाख रुपैयाँभन्दा बढी छ । बैंक मुद्दती निक्षेपमा १२ करोड ५० लाख रुपैयाँ लगानी गरेको फण्डले धितोपत्रमा गरेको लगानीको बजार मूल्य भने ४१ करोड ६४ लाख रुपैयाँभन्दा बढी छ ।