काठमाडौं । आरविवि म्युचुअल फण्डअन्तर्गत सञ्चालित आरविवि म्युचुअल फण्ड २ ले जेठको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्डले जेठमा रू. २३ लाख २६ हजार नाफा कमाएको छ ।
यस फण्ड वैशाखमा इकाई निष्कासन गरी जेठबाट सञ्चालनमा आएकाले जेठको मात्रै वित्तीय विवरण प्रकाशित गरेको हो ।
जेठमा यस कम्पनीले सूचीकृत शेयरमा रू. २५ करोड २४ लाख लगानी गरेको छ । त्यस्तै मुद्दति निक्षेपमा रू. १२ करोड ५० लाख लगानी गरेको छ । फण्डले जेठ मसान्तसम्ममा कुल रू. ७८ लाख ३० हजार आम्दानी गरेको हो । सो अवधिमा फण्डको प्रतिइकाई खुद मूल्य रू. १० दशमलव ०२ छ ।
फण्डको सूचीकृत तथा सूचीकृत नभएका शेयर, डिबेञ्चरमा भएको लगानीको परल मूल्य रू. २६ करोड ७४ लाख रहेकोमा यसको बजार मूल्य रू. २७ करोड ३६ लाखभन्दा बढी छ ।