काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले असार १६ गते विशेष साधारण सभा बोलाएको छ । जेठ ३१ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले नुवाकोट, ककनीस्थित फल एण्ड ट्राउट भिलेज होटल एण्ड रेष्टुरेन्टमा उक्त दिन बिहान १० बजे सभा गर्ने निर्णय गरेको हो ।
आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गर्न लागेको छ । नेपाल राष्ट्र बैंकले प्राप्तिका लागि जेठ २३ गते सैद्धान्तिक सहमति प्रदान गरिसकेको अवस्थामा विशेष साधारण सभामार्फत प्राप्ति प्रस्ताव पारित गर्न लागेको हो ।
यी दुई कम्पनीबीच गत चैत २९ गते प्राप्तिसम्बन्धी प्रारम्भिक सम्झौता भएको थियो । हाल राष्ट्र उत्थान लघुवित्तको चुक्ता पूँजी रू. २५ करोड ९९ लाख छ भने आशा लघुवित्तको रू. ३८ करोड १६ लाख छ । यी दुई कम्पनी समान हैसियतमा एक हुन लागेका हुन् ।
प्राप्ति प्रक्रियाका लागि तय भएको शेयर स्वाप रेसियोलाई विशेष साधारण सभामार्फत स्वीकृति प्रदान गरिनेछ । प्राप्तिपछि राष्ट्र आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार गर्ने तथा केन्द्रीय कार्यालय बनेपा नगरपालिका–१३, काभ्रेपलाञ्चोकमा रहने प्रस्तावसमेत सभाले पारित गर्नेछ ।
साधारण सभा प्रयोजनका लागि असार ७ गते एक दिन बुक क्लोज गर्ने तयारी कम्पनीले गरेको छ । बुक क्लोजको आधारमा असार ६ गतेसम्म कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन सक्नेछन् ।