काठमाडौं । एनआईसी एशिया बैंक म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनआईसी एशिया ग्रोथ फण्डले मंसिर मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार फण्डले मंसिर मसान्तसम्ममा रू. १२ करोड २५ लाख नाफा कमाएको छ । यो नाफा कात्तिक मसान्तको तुलनामा २४ दशमलव ८९ प्रतिशत कम हो । सो अवधिमा फण्डले रू. १६ करोड ३१ लाख नाफा कमाएको थियो । मंसिर महीनामा फण्डको आम्दानीमा कमी आएकोले नाफा घटेको हो ।
कात्तिक मसान्तमा फण्डको कुल आम्दानी रू. १७ करोड २ लाख रहेकोमा मंसिर मसान्तमा रू. १३ करोड १२ लाखमा सीमित भएको छ ।
नाफासँगै फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) पनि कात्तिकको तुलनामा मंसिरमा घटेको छ । कात्तिक मसान्तमा फण्डको न्याभ ११ रुपैयाँ ९७ पैसा रहेकोमा मंसिर मसान्तमा ११ रुपैयाँ ४८ पैसामा सीमित भएको हो ।
फण्डले सूचीकृत शेयरमा लगानी भने कात्तिकको तुलनामा मंसिरमा केही घटाएको छ । कात्तिक मसान्तमा सूचीकृत शेयरमा रू. ८० करोड ८४ लाख लगानी गरेकोमा मंसिर मसान्तमा घटाएर रू. ७९ करोड १० लाखमा झारेको हो ।