काठमाडौं । चालू आर्थिक वर्षको पाँच महीनामा निर्जीवन बीमा कम्पनीहरूले कुल रू. १७ अर्ब १७ करोडभन्दा बढी बीमाशुल्क आर्जन गरेका छन् ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरूले साउनदेखि मंसिरसम्ममा उक्त बीमाशुल्क आर्जन गरेका हुन् ।
निर्जीवन बीमा कम्पनीहरूले चालू आवको पाँच महीनामा आर्जन गरेको कुल बीमाशुल्क गत आर्थिक वर्षको तुलनामा ९ दशमलव २७ प्रतिशत बढी हो । यी कम्पनीहरूले गत आवको मंसिर मसान्तसम्ममा भने कुल रू. १५ अर्ब ७२ करोड बीमाशुल्क आर्जन गरेका थिए ।
चालू आवको पाँच महीनामा सबैभन्दा बढी बीमाशुल्क आर्जन गर्नेमा सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्स (सालिको) छ । यस कम्पनीले गत साउनदेखि मंसिर मसान्तसम्ममा रू. २ अर्ब १९ करोडभन्दा बढी बीमाशुल्क आर्जन गरेको हो । यो बीमाशुल्क गत आवको तुलनामा १० प्रतिशत वृद्धि भएको छ । गत आवमा कम्पनीले रू. १ अर्ब ९९ करोड बीमाशुल्क आर्जन गरेको थियो ।
चालू आवको पाँच महीनामा सर्वाधिक बीमाशुल्क संकलन गर्ने सूचीमा दोस्रोमा सिद्धार्थ प्रिमियम इन्स्योरेन्स कम्पनी छ । यो कम्पनीले मंसिर मसान्तसम्ममा रू. १ अर्ब ७६ करोड बीमाशुल्क आर्जन गरेको छ ।
प्रतिशतका आधारमा सबैभन्दा बढी बीमाशुल्क आर्जन गर्नेमा दि ओरियन्टल छ । यो कम्पनीको बीमाशुल्क ५४ दशमलव ९८ प्रतिशत वृद्धि भएको छ । गत आवको मंसिर मसान्तसम्ममा रू. ७२ करोड ७१ लाख बीमाशुल्क आर्जन गरेको उक्त कम्पनीले चालू आवको सोही अवधिमा रू. १ अर्ब १२ करोडभन्दा बढी आर्जन गरेको हो ।
यो आवको पाँच महीनामा १४ कम्पनीमध्ये दुई कम्पनीको बीमाशुल्क भने घटेको छ, जसमा युनाइटेड अजोड इन्स्योरेन्स र प्रभु इन्स्योरेन्स छन् । यस्तै १२ कम्पनीको बीमाशुल्क भने बढेको छ ।
कम्पनीको नाम | कुल बीमाशुल्क रू.लाखमा | घटबढ प्रतिशत | |
२०८१ साउन–मंसिर | २०८० साउन–मंसिर | ||
सगरमाथा लुम्बिनी इन्स्योरेन्स | २१,९९८.३६ | १९,९९७.०१ | १०.०१ |
सिद्धार्थ प्रिमियर इन्स्योरेन्स | १७,६८५.८५ | १६,५१९.१९ | ७.०६ |
शिखर इन्स्योरेन्स | १७,४२५.७४ | १५,७७६.५३ | १०.४५ |
आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स | १४,५५२.७० | १३,८१२.०८ | ५.३६ |
नेको इन्सुरेन्स | १४,०३८.२१ | १३,३३०.०६ | ५.३१ |
हिमालयन एभरेष्ट इन्स्योरेन्स | १४,००९.२५ | १३,९५३.८५ | ०.४ |
एनएलजी इन्स्योरेन्स | ११,३०६.०७ | १०,१६४.३९ | ११.२३ |
दि ओरियन्टल | ११,२६९.०० | ७,२७१.२५ | ५४.९८ |
युनाइटेड अजोड इन्स्योरेन्स | १०,२५५.६८ | १०,७१२.३८ | -४.२६ |
सानिमा जिआईसी इन्स्योरेन्स | ९,९७४.५८ | ९,६८६.१० | २.९८ |
नेपाल इन्स्योरेन्स | ९,४४६.९३ | ६,१९१.९० | ५२.५७ |
प्रभु इन्स्योरेन्स | ७,६६८.४२ | ८,४१४.१६ | -८.८६ |
राष्ट्रिय बीमा कम्पनी | ६,७११.८९ | ६,२६१.५१ | ७.१९ |
नेशनल इन्स्योरेन्स | ५,४३४.९३ | ५,११९.७४ | ६.१६ |
कुल | १७१,७७७.६१ | १५७,२१०.१५ | ९.२७ |
स्रोत : नेपाल बीमा प्राधिकरण