काठमाडौं । चालू आर्थिक वर्षको ८ महीनासम्ममा नेपालमा २९ अर्ब १३ करोड ४५ लाख रुपैयाँ बराबर विदेशी लगानी प्रतिबद्धता आएको छ । गत साउनदेखि फागुनसम्ममा विभिन्न क्षेत्रका परियोजनामा लगानीका लागि लगानीकर्ताले उद्योग विभागमा उक्त रकम बराबरको प्रतिबद्धता व्यक्त गरेका हुन् ।
विभागले बिहीवार सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्ष (आव) को ८ महीनामा विभागले २५३ ओटा परियोजना स्वीकृत गरेको छ । प्रतिबद्धता आएका परियोजनामा साना आकारका बढी छन् । ठूला स्केलका उद्योगमा प्रतिबद्धता कम आएको छ ।
विभागले साढे २ करोड रुपैयाँदेखि ६ अर्ब रुपैयाँसम्मको लगानीका परियोजना स्वीकृत गर्छ । विभागले विदेशी लगानी प्रतिबद्धतालाई साना, मझौला र ठूला स्केलमा वर्गीकरण गरेको छ । फागुनसम्ममा स्वीकृत भएका २५३ परियोजनामा २३८ ओटा साना छन् । मझौला १२ र ठूला तीनओटा परियोजना स्वीकृत भएको विभागले जानकारी दिएको छ । गत माघमा वर्षकै कम विदेशी लगानी प्रतिबद्धता आएकोमा फागुनमा बढेको छ । विभागका अनुसार फागुनमा मझौला र ठूला परियोजना स्वीकृत नभए पनि थप भएका परियोजनामा लगानी रकम बढेको छ ।
फागुनमा १२ परियोजना स्वीकृत हुँदा ६ अर्ब ४७ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । माघमा १५ परियोजना स्वीकृत हुँदा ३४ करोड ५० लाख रुपैयाँको प्रतिबद्धता थियो । फागुनमा परियोजना संख्या केही घटे पनि प्रतिबद्धता रकम उल्लेख्य रूपमा बढेको देखिन्छ ।
चालू आवको यस अवधिसम्म लगानी प्रतिबद्धता आएका परियोजना सञ्चालन थप १३ हजार १६९ जनाले रोजगारी पाउनेछन् । यो वर्षको फागुनसम्ममा सबैभन्दा बढी विदेशी लगानी प्रतिबद्धता पर्यटन क्षेत्रमै आएको छ । विगतमा यही क्षेत्रमा लगानी बढेको देखिएको छ ।
गत साउनदेखि फागुनसम्ममा विदेशी लगानी स्वीकृत भएका परियोजनामा ११५ ओटा पर्यटनसम्बद्ध छन् । दोस्रोमा सेवा क्षेत्र छ । सेवामा ३५ प्रतिशत परियोजना छन् । सबैभन्दा कम खनिज क्षेत्रका छन् । खनिज क्षेत्रमा जम्मा दुईओटा परियोजना दर्ता भएका छन् । ऊर्जाक्षेत्रका ६ अर्ब रुपैयाँसम्म लागतका परियोजनामा विदेशीले चासो देखाएका छैनन् ।
चालू आवको ७ महीनामा विदेशी लगानीकर्ताले ८ अर्ब ५० करोड रुपैयाँ लाभांश लगेका छन् । यो गतवर्षको भन्दा कम हो । गतवर्ष २०७९/८० को फागुनसम्ममा विदेशी लगानीकर्ताले १३ अर्ब ४५ करोड रुपैयाँ लाभांश लगेका थिए ।