काठमाडौं । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आठथरी पौष्टिक तत्त्व मिश्रण भएको चामल विक्री गर्न थालेको छ । विभिन्न पौष्टिक तत्त्वको कमीले विशेषगरी बालबालिकामा देखिने कुपोषण, रक्तअल्पताजस्ता स्वास्थ्य समस्याबाट दिगो रूपमा छुटकारा दिलाउन यस्तो चामलको विक्री शुरू गरिएको कम्पनीले बताएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बिहीवार खाद्य कम्पनीको थापाथलीस्थित कार्यालयमा चामलमा पौष्टिक तत्त्व स्तरोन्नतिका लागि आवश्यक प्लान्टको उद्घाटन गरे । प्लान्ट उद्घाटन कार्यक्रममा मन्त्री भण्डारीले पौष्टिक तत्त्वको कमीले हुने स्वास्थ्य समस्याबाट कसैले पनि पीडित हुन नपरोस् भनेर सरकारी कम्पनीबाटै यस्तो चामलको विक्री शुरू गरिएको बताए । विश्व खाद्य कार्यक्रमको सहयोगमा कम्पनीले सुर्खेत, जनकपुर, राजापुर र काठमाडौंको थापाथलीमा चामलको पौष्टिक तत्त्व स्तरोन्नति गर्न आवश्यक पर्ने मेशिन जडान गरेको हो । यससँगै अब यस्तो चामल जो कोहीले पनि कम्पनीका शाखाहरूबाट किनेर उपभोग गर्न सक्नेछन् ।
कुपोषण र रक्तअल्पताको समस्या धेरै भएका कर्णाली प्रदेशका कालीकोट, मुगु, हुम्ला, जुम्ला र डोल्पा जिल्लामा कम्पनीले यसअघि नै यस्तो चामलको विक्री शुरू गरिसकेको कम्पनीका सूचना अधिकारी शर्मिला सुवेदीले बताइन् ।
उनका अनुसार उक्त चामलमा आइरन, जिंक, भिटामिन ए, फोलिक एसिड, भिटामिन बी१२, थायमिन, नियासिन, पाइरिडक्सिनसहित शारीरिक र मानसिक स्वास्थ्यका लागि आवश्यक तत्त्व मिसाइएको हुन्छ । पौष्टिक तत्त्व स्तरोन्नति सबै किसिमका चामलमा गर्न सकिने भए पनि अहिले कम्पनीले स्टीम जिरा मसिनो चामलमा मात्रै गर्न शुरू गरेको सुवेदीले जानकारी दिइन् ।
‘यो चामलको लागत सामान्य चामलभन्दा प्रतिकिलो २ देखि ५ रुपैयाँसम्म महँगो पर्छ । यो लागतलाई जनस्वास्थ्यमा पर्ने सकारात्मक प्रभावसँग तुलना गर्दा खर्चको दृष्टिले यो चामल कम लागतमै बढी प्रतिफल दिने खाद्यान्न हो,’ उनले भनिन् ।
कम्पनीका अनुसार यस्तो चामलमा मिलिग्राम प्रतिकिलो एकाइका दरले आइरन ३९ देखि ७२ सम्म, जिंक ३२ देखि ५९ सम्म, भिटामिन शून्य दशमलव ८९ देखि २ दशमलव २१ सम्म, फोलिक एसिड शून्य दशमलव २४ देखि शून्य दशमलव ५९ सम्म र भिटामिन बी१२ को मात्रा शून्य दशमलव शून्य शून्य ७ देखि शून्य दशमलव शून्य २ शून्यसम्म हुनुपर्ने गरी मापदण्ड तय गरिएको छ ।
त्यसैगरी थायमिन २ दशमलव ३ देखि ५ दशमलव ६ सम्म, नियासिन २० दशमलव ५ देखि ५० दशमलव ७ सम्म र पाइरिडक्सन १ दशमलव ९ देखि ४ दशमलव ८ सम्म थप गर्न सकिने सूचनामा उल्लेख छ । मन्त्रालयका अनुसार पौष्टिक तत्त्व सुधारिएको चामलको बोरामा स्पष्टसँग बुझिने गरी लेबलमा उल्लेख गर्नुपर्ने छ । यसअघि पौष्टिक तत्त्व सुधार गरिएका चामलको गुणस्तर निर्धारणका लागि मापदण्ड तयार गर्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गतवर्ष साउन १ मा राजपत्रमा सूचना प्रकाशित गरेको थियो । उक्त सूचनाअनुसार पौष्टिक तत्त्व स्तरोन्नति गरिएको चामल अस्वाभाविक गन्ध एवं स्वादरहित हुनुका साथै ढुसी र कीरा नलागेको हुनुपर्ने मापदण्ड छ । त्यस्तै, चामलमा कुनै पनि बाह्य रङ मिसाउन बन्देज लगाइएको छ ।
नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ को रिपोर्टअनुुसार कर्णाली, मधेश, लुम्बिनी र सुुदूरपश्चिम प्रदेशमा यी सूक्ष्म पोषण तत्त्व सबैभन्दा कम भएको पाइएको छ । उक्त रिपोर्टअनुसार नेपालमा प्रजनन उमेर समूहका ३४ प्रतिशत महिला, ४३ प्रतिशत ५ वर्षमुनिका बालबालिका र ३९ प्रतिशत किशोेरीमा रक्तअल्पताको समस्या पाइएको छ । त्यसैगरी पोषण तत्त्वको कमीका कारण २५ प्रतिशत बालबालिकामा पुड्कोपना देखिएको छ । चामल उपभोग बढी हुने मुलुकहरूले यस्तो प्रविधि पहिलेदेखि नै अपनाइरहेका छन् । बंगलादेश, भुटान, अमेरिका, कोस्टारिका, भारतलगायत देशमा यी सूक्ष्म पोषण तत्त्व मिश्रित चामल उत्पादन र वितरण प्रक्रिया यसअघि नै शुरू भइसकेको छ ।
विद्यालयको दिवाखाजामा पनि
अबदेखि विद्यालयको दिवाखाजामा पनि पौष्टिक तत्त्व स्तरोन्नति गरिएको चामल प्रयोग गरिने भएको छ । नेपालमा अधिकांश जनसंख्याले मुख्य आहारका रूपमा उपभोग गर्ने चामलमा पौष्टिक तत्त्व स्तरोन्नति गर्दा पोषण अवस्थामा सुधार ल्याउन मद्दत पुग्ने भएकाले विद्यालयको दिवाखाजामा समेत यही चामल प्रयोग गर्ने गरी काम अघि बढिसकेको कम्पनीले बताएको छ ।
सूचना अधिकारी सुवेदीका अनुसार अहिले उक्त चामलको प्रयोग विद्यालयको दिवाखाजामा समावेश गर्न ७५३ ओटै पालिकामा पहल भइरहेको छ । अब केही महीनाभित्रै सबै स्थानीय तहका विद्यालयमा यो चामल प्रयोगको प्रबन्ध गर्ने व्यवस्था मिलाउन काम अघि बढेको उनले बताइन् ।
उक्त चामलमा आइरन, जिंक, भिटामिन ए, फोलिक एसिड, भिटामिन बी१२, थायमिन, नियासिन, पाइरिडक्सिनसहित शारीरिक र मानसिक स्वास्थ्यका लागि आवश्यक तत्त्व मिसाइएको हुन्छ ।