काठमाडौं । भ्रष्टाचार निवारण ऐन, २०५९ को संशोधन विधेयकमा गैरआवासीय नेपालीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा चलाउन सक्ने प्रावधान आयोगले प्रस्ताव गरेपछि गैरआवासीय नेपालीहरू द्विविधाग्रस्त भएका छन् । गैरआवासीय नेपालीका प्रतिनिधिहरू कोही उक्त प्रस्तावको विपक्षमा उभिएका छन् भने केहीले नेपालमा हुने गलत कामको अनुसन्धान अख्तियारले गर्दा हुन्छ भन्ने मत प्रकट गरेका छन् ।
निजीक्षेत्रको भ्रष्टाचार र अनियमिततालाई आफ्नो अधिकार क्षेत्रमा ल्याउन लामो समयदेखि लबिइङ गर्दै आएको अख्तियारले गैरआवासीय नेपालीले गर्न सक्ने भ्रष्टाचार पनि हेर्न पाउनुपर्ने प्रस्ताव गरेको हो । हाल प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा विचाराधीन भ्रष्टाचार निवारण ऐन, २०५९ सम्बन्धी विधेयकमा गैरआवासीय नेपाली संलग्न हुने भ्रष्टाचारको विषय उल्लेख छैन । तर, अख्तियारले ३० बुँदे संशोधन प्रस्ताव अघि सार्दै उक्त ऐनमा गैरआवासीय नेपालीबाट हुने भ्रष्टाचारमा पनि आफूले अनुसन्धान र अभियोजन गर्ने प्रावधान राख्न खोजेको हो ।
सरकारले गैरआवासीय नेपालीको लगानी आकर्षित गर्न खोजिरहेको सन्दर्भमा यस्तो प्रस्तावले उनीहरू हच्किने कतिपय गैरआवासीय नेपाली बताउँछन् । निजीक्षेत्रलाई अख्तियारको अनुसन्धान घेराभित्र ल्याउने विधेयकको प्रस्तावमा निजीक्षेत्रका प्रतिनिधिमूलक संस्थाहरूले चर्को विरोध गरेका छन् । अख्तियारले भने नेपालले भ्रष्टाचारसम्बन्धी अन्तरराष्ट्रिय सन्धि अनुमोदन गरेर निजीक्षेत्रको भ्रष्टाचारलाई पनि अपराधीकरण गर्न स्वीकारिसकेको अवस्थामा उक्त प्रतिबद्धताबाट पछि हट्न नहुने जिकीर गर्दै आएको छ । अख्तियारले गैरआवासीय नेपालीमाथि समेत अनुसन्धान गर्न खोज्नु न्यायसंगत नभएको गैरआवासीय नेपाली संघका संस्थापकमध्येका एक भीम उदास बताउँछन् । ‘सरकारी संयन्त्रभित्र हुने अनियमितता, भ्रष्टाचार र बेथितिको अनुसन्धान हुनु ठीक हो तर निजीक्षेत्र र गैरआवासीय नेपालीमाथि समेत अनुसन्धान गर्न खोज्नु ठीक होइन,’ उनले आर्थिक अभियानसँग भने, ‘निजीक्षेत्रको आफ्नै खाले बिजनेश मेकानिजम हुन्छ । आफ्नै खाले सम्झौता गरेका हुन्छन् । त्यस्ता सम्झौताहरू मिलेन भने समाधान गर्ने आफ्नै खाले बाटा छन् । अख्तियारले नै हेर्नुपर्ने कुनै कारण छैन ।’
सरकारी अड्डाहरूमा अहिले पनि अख्तियारको डरले निर्णय गर्न हच्किने परिस्थिति रहेको भन्दै निजीक्षेत्र र गैरआवासीय नेपालीमाथि समेत अख्तियारले अनुसन्धान गर्न लागे लगानीको वातावरण बिग्रने उदास बताउँछन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार स्थापनाको २ दशक पुग्दा ठूला गैरआवासीय नेपालीबाट व्यक्तिगतका अलावा इन्भेस्टमेन्ट कम्पनीमार्फत पछिल्लो समय नेपालमा लगानी भित्रिरहेको छ ।
वित्तीय, ऊर्जा, जलविद्युत्, पर्यटन, उद्योग, कृषि, शिक्षा र स्वास्थ्य, पूर्वाधार, निर्माण व्यवसाय, इन्जिनीयरिङ, सूचनाप्रविधिलगायत क्षेत्रमा गैरआवासीय नेपालीले लगानी बढाउँदै आएको देखिन्छ । पछिल्लो २० वर्षमा औपचारिक रूपमा मात्रै पनि १ खर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको गैरआवासीय नेपाली संघले बताएको छ ।
तर, सरकारले नै गैरआवासीय नेपालीमाथि गलत दृष्टिले हेर्न थाल्नु घातक भएको संघका एक पूर्वअध्यक्षले बताए । नाम उल्लेख नगर्ने शर्तमा उनले भने, ‘सरकारले नेपालको नीतिनियमलाई सहज बनाएर लगानीको वातावरण तयार गर्नुपर्छ । अनावश्यक दु:ख दिने किसिमले अख्तियारसमेत प्रयोग गर्न लाग्ने हो भने त्यसले लगानीको वातावरण बन्न दिँदैन ।’ तर, गैरआवासीय नेपाली संघका उपाध्यक्ष हेमराज शर्मा गैरआवासीय नेपालीले नेपालमा गर्ने कारोबार सम्बन्धमा अख्तियारले अनुसन्धान गर्दा राम्रै हुने बताउँछन् । विदेशमा बस्ने दुई प्रकारका नेपाली छन् । नेपाली नागरिकता वाहक, जो विदेशमा अस्थायी वा स्थायी रूपमा बसोबास गर्दै आएका छन् र विदेशी नागरिकता लिएका नेपाली मूलका गैरआवासीय नागरिक ।
‘नेपालको संविधानले दोस्रो प्रकारका गैरआवासीय नेपालीलाई पनि नागरिकता (राजनीतिक अधिकार बाहेक) दिने व्यवस्था गरेकोले यी दुवैथरी गैरआवासीय नेपालीको (नेपाल) राज्यप्रतिको दायित्व हुन्छ,’ शर्माले आर्थिक अभियानसँग भने, ‘उनीहरूले नेपालमा गरेको आर्थिक कारोबारको सन्दर्भमा र नेपालको कुनै पदमा रही पदको दुरुपयोग गरेको अवस्थामा अख्तियारले हेर्दा उपयुक्त हुन्छ । तर, विदेशको कारोबारमा अख्तियारको कार्यक्षेत्र पुर्याउन असम्भव छ ।’ उनका अनुसार अख्तियारले छानबिन गर्दा गैरआवासीय नेपाली (एनआरएन)को कारोबार अझै पारदर्शी हुन सक्छ । ‘यसो नहुँदा नेपालमा गैरकानूनी ढंगले कमाएको धन एनआरएनमार्फत प्रयोग हुने अवस्था पनि रहन्छ । अख्तियारले ध्यान दिएको खण्डमा एनआरएनहरू कालो धनलाई सेतो बनाएको भन्ने आरोपबाट मुक्त हुन सकिन्छ,’ उनले भने । उनका अनुसार विदेशमा अख्तियारको कार्यक्षेत्र पुर्याउन प्राविधिक, स्थानीय र अन्तरराष्ट्रिय कानूनी अडचनहरू आउने भएकाले यो विषय चुनौतीपूर्ण छ । ‘त्यसैले अख्तियारले कुन दायरामा रहेर छानबिन गर्न खोजेको हो भन्ने कुरामा स्पष्ट हुन जरुरी छ,’ शर्माले भने ।
गैरआवासीय नेपालीलाई कसरी हेर्न खोज्दै छ अख्तियार ?
अख्तियारका अनुसार अपराधसम्बन्धी कसुरमा विदेशी नागरिकलाई समेत प्रचलित ऐन लागू हुन्छ । भ्रष्टाचारसम्बन्धी विषयमा यो अभ्यास विश्वव्यापी रहेको भन्दै त्यससम्बन्धी कानूनी व्यवस्थाका लागि अख्तियारले प्रस्ताव गरेको हो ।
‘यो ऐन नेपाल राज्यभर लागू हुनेछ र नेपालबाहिर जहाँसुकै रहे बसेका नेपाली नागरिक, राष्ट्रसेवक र यस ऐनबमोजिम भ्रष्टाचार गरेको मानिने कुनै काम गरी विदेशमा बस्ने गैरनेपाली र गैरआवासीय नेपाली नागरिकलाई समेत लागू हुनेछ,’ प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा अख्तियारले भ्रटाचारसम्बन्धी ऐन संशोधनका लागि दिएको सुझावमा भनिएको छ ।
अख्तियारका एक उच्च अधिकारीका अनुसार ठूला जहाज खरीदमा भएको अनियमिततामा विदेशी र नेपाली नागरिक संलग्न छन् । अहिले कानून अभावले गर्दा उनीहरूमाथि अनुसन्धान गर्न अप्ठ्यारो परिरहेको छ । नेपालको भ्रष्टाचारसम्बन्धी प्रचलित ऐनमा बाटो खुलाइयो भने त्यसअनुसार कारबाही गर्न सहज हुने उनको तर्क छ ।
‘गैरआवासीय नेपाली नागरिकको हकमा भने प्रचलित ऐनले कुनै सम्बोधन गरेको छैन । त्यसैकारण प्रस्तावित विधेयकमा गैरनेपाली नागरिकलाई समेत लागू हुनेछ भनेर थप स्पष्ट पार्नका लागि प्रस्ताव गरिएको छ,’ ती अधिकारीले भने । अख्तियारको प्रस्ताव संसद्ले स्वीकार गरे गैरआवासीय नेपालीसमेत भ्रष्टाचार, अकुत सम्पत्ति आर्जन र घूस/रिसवतअन्तर्गत छानबिनको दायरामा आउनेछन् । यसको क्षेत्राधिकार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहनेछ । अख्तियारले गरेको प्रस्तावमा राज्य व्यवस्था समितिमा औपचारिक रूपमै छलफल अघि बढाउने तयारी गरिएको छ ।
अहिले कानूनले दिएको अधिकारलाई समेत अख्तियारले सही रूपमा कार्यान्वयन गर्न नसकेको र अनावश्यक दु:ख दिइरहेका कारण कर्मचारी प्रशासनभित्रै त्रासको स्थिति रहेको भन्दै गैरआवासीय नेपाली बताउँछन् ।
अख्तियारको प्रस्ताव
यो ऐन नेपाल राज्यभर लागू हुनेछ र नेपालबाहिर जहाँसुकै रहे बसेका नेपाली नागरिक, राष्ट्रसेवक र यस ऐनबमोजिम भ्रष्टाचार गरेको मानिने कुनै काम गरी विदेशमा बस्ने गैरनेपाली र गैरआवासीय नेपाली नागरिकलाई समेत लागू हुनेछ ।