अर्थमन्त्री विष्णु पौडेल र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एकै मञ्चबाट अर्थतन्त्रमा सुधार आएको अभिव्यक्ति आएकै दिन भन्सार विभागले आयात निर्यातको तथ्यांक सार्वजनिक गरेको छ । यसले अर्थतन्त्रमा केही सुधारको संकेत गरेको छ । त्यसो त राष्ट्र बैंकले सार्वजनिक गर्ने मासिक प्रतिवेदनको मङ्सिरको तथ्यांकले पनि अर्थतन्त्र सकारात्मक बाटोमा लागेको देखाएकै हो । तर, बाह्य अर्थतन्त्रमा सुधार आए पनि आन्तरिक अर्थतन्त्र चलायमान हुन सकेको छैन । यस्तोमा अहिले आएको भन्सार विभागको तथ्यांकले भनेजस्तो मुलुकको अर्थतन्त्रमा केही सुधार आएको हो त ?
चालू आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो ६ महीनामा ८ खर्ब २२ अर्ब रुपैयाँको आयात भएको छ । यस्तो आयात गतवर्षको सोही अवधिको तुलनामा ७ प्रतिशतले बढेको भन्सार विभागले सार्वजनिक गरेको पुस मसान्तसम्मको तथ्यांकले देखाएको छ । गतवर्ष यस अवधिमा ७ खर्ब ६८ अर्ब रुपैयाँको आयात भएको थियो । यस अवधिमा निर्यात ९८ अर्ब रुपैयाँको भएको छ । अर्थात् ६ महीनामै झन्डै १ खर्बको निर्यात भएको छ जुन सकारात्मक छ । यो भनेको गत वर्षको सोही अवधिको तुलनामा ३१ दशमलव ७८ प्रतिशतको वृद्धि हो । यस अवधिमा गतवर्ष ७४ अर्ब रुपैयाँको निर्यात भएको थियो ।
नेपालको निर्यात बढ्नुमा उत्पादन वृद्धि वा अन्य कारण देखिँदैन । तेस्रो मुलुकबाट कच्चा भटमास तेल आयात गरी प्रशोधन गरेर भारत निर्यात गर्दा यो आँकडा बढेको देखिन्छ । पेट्रोलियम पदार्थ पछि ठूलो परिमाणमा आयात हुने वस्तुमा भटमासको तेलको कच्चा पदार्थ रहेको देखिन्छ भने सबैभन्दा बढी निर्यात भएको वस्तुमा भटमासको तेल नै देखिन्छ । अहिले बढेको निर्यात नेपालको उत्पादन क्षमता र वस्तुको गुणस्तरका कारण नभई भारतले दिएको सुविधा उपयोग गरेर छोटो बाटो प्रयोग भएर हो । यस्तो निर्यात दिगो हुँदैन । विगतमा पाम आयल पनि यसरी नै ठूलो परिमाणमा निर्यात हुन्थ्यो जुन भारतले अन्य देशलाई लगाएको भन्सार घटाएपछि नेपालबाट जान रोकियो ।
निर्यात बढ्नु पनि अर्थतन्त्र केही चलायमान हुनु हो । भन्सारको तथ्यांकले यो पनि बढेको देखाएको छ तर कस्तो वस्तुको आयात बढेको छ भन्ने कुराले बढी अर्थ राख्छ । औद्योगिक कच्चा पदार्थको आयात बढेको छ, माध्यमिक वस्तुको आयात बढेको छ भने त्यसले अर्थतन्त्रलाई सकारात्मक गति दिन्छ । होइन, उपभोग्य वस्तुको आयात मात्रै बढेको छ भने त्यसले अर्थतन्त्रलाई गति दिन सक्दैन । तथ्यांक हेर्दा केही कच्चा पदार्थको आयात बढेको देखिन्छ भने धेरैजसो आयात उपभोग बढाउने खालको नै देखिन्छ । अहिले विद्युतीय सवारीको आयात बढेको छ जुन गत वर्षदेखि तीव्र रूपमा बढ्न थालेको हो । यो आयातले भन्सार राजस्व बढाउन धेरै सहयोग गर्दैन किनभने यसमा अन्य सवारीसाधनको दाँजोमा निकै कम कर लगाइएको छ ।
अर्थतन्त्र संकटमा नै छ भन्ने कुरा बैंकहरूको वित्तीय विवरणले देखाएको छ । अधिक तरलताको समस्या एकातिर छ । त्योभन्दा ठूलो समस्या बैंकहरूले ऋण उठाउन नसक्नु हो । धितोमा आधारित कर्जा भए पनि कर्जाको साँवाब्याज नउठ्दा बैंकहरूले नाफाको ठूलो अंश प्रोभिजनिङका लागि छुट्ट्याउनु परेको छ जसले गर्दा बैंकहरूको नाफा प्रभावित भएको छ । यसले अर्थतन्त्रमा कुनै गम्भीर समस्या छ भन्ने देखाउँछ । बैंकहरूको मुनाफा बढाउन सके भने त्यसले पनि अर्थतन्त्रलाई गति दिन मद्दत गर्छ ।
समग्रमा नेपालको अर्थतन्त्रमा ठूलो सुधारको खाँचो छ भन्ने कुरा सबैजसो तथ्यांकले देखाइरहेका छन् । सरकारले पछिल्लो समय केही कानूनी सुधार गरेर थोरै भए पनि आशा जगाएको छ तर त्यसको कार्यान्वयन नहेरी अर्थतन्त्रमा आशाको सञ्चार गराउन सक्ने देखिँदैन । अहिलेको ठूलो काम भनेकै आशाको सञ्चार गराउनु हो । त्यसतर्फ सरकारले गर्नुपर्ने काम थुप्रै छन् । सरकार यसमा जति सक्रिय हुन्छ त्यति नै अर्थतन्त्र लयमा फर्कन सक्छ ।