देशभित्र रोजगारीको अभावका कारण विदेश जाने र मुलुकमा सञ्चालित उद्योग कलकारखानामा कामदार अभावले उत्पादनमा नकारात्मक असर परेको समाचार सँगसँगै आउन थालेका छन् । यो विरोधाभासपूर्ण अवस्था सृजना हुनुको कारणबारे सोच्न र त्यसको निराकरण गर्न अब ढिलाइ गर्नु हुन्न । सीधा अर्थमा बुझ्ने हो भने नेपालमा काम गरेर पाइने ज्यालाभन्दा विदेशमा हुने आम्दानी बढी हुन्छ । त्यसकारण पनि स्वदेशमा काम नगरी बलिया पाखुरीहरू विदेश पलायन भएका हुन् । यसबारे भने आफ्नो उद्योगमा कामदार अभावका कारण उत्पादनमा असर पर्यो भनी कराउने उद्योगीहरू मौन छन् । उनीहरूले अब के बुझ्नुपर्छ भने यो प्रतिस्पर्धाको युग हो, त्यसकारण उत्पादन प्रतिस्पर्धी ढङ्गमा गर्नुपर्छ र कामदारलाई सेवासुविधा पनि सोहीअनुरूप व्यवस्था गर्न सक्नुपर्छ । बजारको प्रतिस्पर्धामा टिक्न स्तरचेतका साथै उत्पादनको परिमाण पनि ठूलै हुनुपर्छ । त्यसका निम्ति उद्योगहरूलाई यान्त्रीकरण गर्नतिर पनि लाग्नुपर्छ । यसो गर्न सकेमा क्रमश: मजदूर अभावको समस्या कम हुँदै जानेछ र प्रतिस्पर्धात्मक क्षमता पनि अभिवृद्धि हुँदै जानेछ ।
उद्योग कारखानामा काम गर्ने मजदूर पाउनै समस्या भएपछि दक्ष, अदक्ष वा अर्धदक्ष कामदार भनी विशिष्टीकरण गर्ने स्थिति बन्न सक्दैन । कामदारकै अभाव खट्किँदा उद्योगहरूले आफूलाई उपयुक्त मजदुर छनोट गर्ने अवसर पनि पाएका छैनन् । त्यसकारण उत्पादन प्रभावित भएको छ ।
(सम्पादकीयबाट) वर्ष ८, अंक ७६, मंगलवार १९ मङ्सिर, २०६९