काठमाडौं। नबिल बैंक लिमिटेडले अपोइन्टमेन्ट बैंकिङ सेवा शुरू गरेको छ । आफ्ना ग्राहकको सुविधालाई ध्यानमा राखेर व्यस्त समयको व्यवस्थापन गरी चुस्त सेवा दिन यस्तो प्रणाली शुुरू गरिएको बैंकले जनाएको छ । तत्कालका लागि काठमाडौंको तीनधारास्थित बैंकको केन्द्रीय कार्यालयबाट यो सेवा दिन थालिएको छ ।
प्रविधिको प्रयोगमार्फत थप छरितो र कुशल सेवा प्रदान गर्न यो प्रणाली शुरू गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले बताए । ‘हामी ग्राहकको चाहनालाई महसूस गर्दै नवीन समाधान प्रदान गर्न प्रतिबद्ध छौं । अपोइन्टमेन्ट बैंकिङ प्रणालीले समय व्यवस्थापनमा सहयोग गर्ने, कुशल सेवा उपलब्ध गराउने हाम्रो लक्ष्यलाई प्रतिविम्बित गर्दछ,’ उनले भने ।
बैंकले व्यस्त पेशाकर्मी तथा व्यवसायीलाई लक्षित गरी नवीनतम प्रविधिमा आधारित यो प्रणालीको शुरुआत गरेको जनाएको छ । यो प्रणालीको प्रयोग गरेर ग्राहकले आफूले चाहेको समय अर्थात् आफूले बुक गरेको समयमा बैंकबाट सेवा लिन सक्नेछन् । नगद र चेक कारोबार जस्ता अत्यावश्यक बैंकिङ सुविधाका लागि यो प्रणालीको प्रयोग गर्न सकिने बैंकले जनाएको छ ।
यस प्रणालीबाट ग्राहकले बैंकको वेबसाइट वा एनबैंक एपमार्फत सजिलै अपोइन्टमेन्ट बुक गर्न सक्ने व्यवस्था गरिएको छ । ग्राहकले बैंकमा जानुअघि उल्लिखित प्लेटफर्ममार्फत लिनुपर्ने सेवा र आफूलाई सहज हुने समय छनोट गर्ने सुविधा दिइएको छ । नबिल बैंकले २४ लाखभन्दा बढी सेवाग्राहीलाई देशभरका २ सय ६८ शाखा र ३ सय २० एटिएमबाट सेवा प्रदान गर्दै आएको छ ।