अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले २०६९/७० मा नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ३ दशमलव ८ प्रतिशतले मात्र बढ्ने प्रक्षेपण गरेको छ । नेपालको आर्थिक परिदृश्यबारे नोभेम्बर १६ मा बसेको आईएमएफको कार्यकारी बोर्ड बैठकले गरेको विश्लेषणमा यस्तो अनुमान गरिएको हो ।
बैठकपछि प्रकाशित विज्ञप्तिमा गत वर्ष साढे ४ प्रतिशतको जीडीपी वृद्धिदर प्राप्त गरेको नेपालको जीडीपी वृद्धिदर घट्नुमा भारतीय अर्थतन्त्रमा आइरहेको सङ्कुचन मुख्य कारण भएको उल्लेख गरिएको छ । विज्ञप्तिअनुसार सबैभन्दा ठूलो व्यापारिक साझेदार भारतको अर्थतन्त्र कमजोर बनिरहँदा त्यसको प्रत्यक्ष प्रभाव नेपालमा परिरहेको छ । निर्यातको ओर्लंदो क्रम, लगानीको कमजोर स्थिति र विप्रेषणको कमजोर आप्रवाहले गर्दा भारतीय अर्थतन्त्रमा थप सङ्कुचन आउने आईएमएफको अनुमान छ । ‘यी कारणले आगामी केही महीना भारतमा मुद्रास्फीति दर वृद्धि हुने देखिन्छ,’ विज्ञप्तिमा उल्लेख छ ।
वर्ष ८, अंक ७७, बुधवार २० मङ्सिर, २०६९