काठमाडौं । प्रभु स्टील्स एण्ड हाइड्रो इन्भेष्टमेण्ट कम्पनी लिमिटेडले कुमारी क्यापिटललाई शेयर निष्कासनका लागि विक्री प्रबन्धक नियुक्त गरेको छ । ९८ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने कार्य अगाडि बढाएको कम्पनीले कुमारी क्यापिटललाई विक्री प्रबन्धक नियुक्त गरेको हो ।
विक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतापत्रमा प्रभु स्टील्स एण्ड हाईड्रो इन्भेष्टमेण्ट कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिल प्रसाद अधिकारी र कुमारी क्यापिटलको तर्फबाट प्रमुख मर्चेन्ट बैंकिङ्ग सविन बुढाथोकीले हस्ताक्षर गरे । उक्त कार्यक्रममा दुवै कम्पनीका विशिष्ठ व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
कम्पनीमा प्रभु ग्रुप्स एण्ड कम्पनीज् अन्तर्गतका प्रभु केबलकार एण्ड टुरिजम लिमिटेड, प्रभु होल्डिङ्स एण्ड हाइड्रो डेभलपमेन्ट कम्पनी लिमिटेड र हाइड्रो होल्डिङ्स एण्ड पावर डेभलपमेन्ट कम्पनी लिमिटेडको मुख्य लगानी रहेको बताइएको छ ।
कम्पनीले जलविद्युत्, कृषि, पर्यटन, विभिन्न उत्पादनमुलक उद्योग र साहासिक पर्यटनमा लगानी गरेको जनाएको छ । यो कम्पनी गत २ वर्षदेखि सञ्चालन मुनाफामा छ ।
कम्पनीले हाइड्रोपावरको विभिन्न संरचनामा चाहिने मेसिन आयात गरि भण्डारण गर्ने र जलविद्युत कम्पनीलाई आपूर्ति गर्ने उद्देश्यले पर्साको वीरगंज महानगरपालिका वडा नं. ३१ मा तीन विगाह जमिनसमेत खरीद गरेको छ ।
यस कम्पनीको लिबर्टी इनर्जी कम्पनी लिमिटेड र बुटवलको फुलबारी पार्क देउराली डाँडास्थित सञ्चालनमा आइसकेको भगवान गौतम बुद्धको कुलगुरु ऋषि कालदेवलको आश्रम एवं नुवाकोट गढी जाने सिद्धार्थ केवलकार लिमिटेडमा समेत लगानी रहेको छ ।
यस कम्पनीले आईपीओ निष्कासनपछि आउने रकमले जलविद्युत् क्षेत्रमा आक्रामक ढंगले लगानी विस्तार गर्ने उद्देश्य लिएको छ । यस इन्भेष्टमेण्ट कम्पनीले बडीमालिका केवलकार, ईच्छाकामना केवलकार र प्रभु जलविद्युत विकास कम्पनीमा समेत लगानी गर्ने प्रतिवद्धता गरेको छ । यस कम्पनीको २ अर्ब ५ करोडको अधिकृत पूँजी रहेको छ भने जारी पूँजी २ अर्ब रहेको छ ।
कम्पनीको हाल १ अर्ब २ करोड संस्थापक समूहको चुक्ता पूँजी छ । आईपीओबाट आउने सर्वसाधारण समूहको ९८ करोड गरि कम्पनीको २ अर्ब पूँजी पुग्नेछ ।कम्पनीले जारी गर्ने शेयर प्रतिकित्ता रु. ५० दरको १ करोड ९६ लाख कित्ता हुनेछ ।