भोजराज तिमल्सिना
पुष्प व्यवसायी
झण्डै ५ वर्षअघि ४ लाख रुपैयाँ ऋण लिएर शुरु गरेको व्यवसाय बाट मासिक ९० हजार रुपैयाँभन्दा बढी आय गर्न इण्टरनेट राम्रै साथ दिएको छ ।
कृष्णचन्द्र बञ्जारा÷काभ्रे
काभ्रे उग्रतारा गाविस, जनागालका पुष्प व्यवसायी भोजराज तिमल्सिनाका लागि इण्टरनेट वरदान सावित भएको छ । आफ्नो व्यवसायका लागि आवश्यक प्राविधिक ज्ञान र शीप लिन उनी नियमित इण्टरनेट प्रयोग गर्छन् । आफुले भोग्ने कतिपय समस्याको समाधान पनि उनी अनलाइनमै खोज्छन् । कृषिमा सफलताका लागि मिश्रितभन्दा एउटै व्यवसायमा लाग्नुपर्ने उनको भनाइ छ ।ब नेपालमा पुष्पविज्ञको अभाव भएको र उनीहरूसँग पनि नियमित सम्पर्क गर्न नसकिने भएकाले आवश्यक प्राविधिक ज्ञानका लागि इण्टरनेट सहयोगी बनेको उनले बताए । ‘कतिपय जातका फूलहरू विदेशबाट पनि मगाउनु पर्ने भएकाले त्यसको जानकारी लिन र बिरुवा मगाउनका लागि इण्टरनेटको प्रयोग फलदायी भएको छ,’ उनले भने ।
कुन जातको फुल कस्तो वातावरणमा फुल्छ, एउटै जातमा पनि कति प्रकार या रङ्गका पुष्प पाइन्छन् भन्ने कुराको ज्ञान उनले इण्टरनेटबाटै लिने गरेका छन् । इण्टरनेटको प्रयोगले पुष्पखेतीका लागि तालीममा गर्नुपर्ने खर्चसमेत कटौती भएको उनको अनुभव छ । तिमल्सिनाले वार्षिक ११ लाख रुपैयाँको पुष्प उत्पादन गरिरहेका छन् । झण्डै ५ वर्षअघि ४ लाख रुपैयाँ ऋण लिएर शुरू गरेको व्यवसायबाट मासिक ९० हजार रुपैयाँभन्दा बढी आय गर्न इण्टरनेटले राम्रै साथ दिएको छ । उनको व्यवसायले ६ जनालाई रोजगारी दिएको छ । २०६३ सालसम्म बेरोजगार उनी काठमाडौंको एक होटलमा काम गर्ने आफन्तले पुष्प व्यवसायबारे बताएपछि यस व्यवसायमा लागेका हुन् ।
‘युनिक फ्लोरा फार्म’ नामक उनको फुलखेती हाल १० रोपनी जग्गामा फैलिएको छ । फार्मको क्षेत्रफल बढाउँदै लैजाने उनको लक्ष्य छ । ‘कट फ्लावर’ जातका लिमोनियम, कार्नेस, जर्बेरा र रोजका साथै गोदावरी, सयपत्रीलगायत फूल उनको फार्ममा उत्पादन हुन्छन् । फार्मको मासिक खर्च करीब रू. ७५ हजार हुने तिमल्सिनाले जानकारी दिए । बहुवर्षे फुल कार्नेस, जर्बेरा, लिमोनियम र गुलाफका बिरुवालाई क्रमशः रू. १ सय १५, ४, १०, र ३ पर्छ । उनले लिमोनियम र रोज प्रति‘स्टीक’ रू. ८, गोदावरी प्रतिबोट रू. ५० र सयपत्री (माला) रू. १५ देखि २५ सम्ममा विक्री गर्छन् । विभिन्न उत्सव तथा अतिथि सत्कारमा प्रयोग हुने उनका उत्पादनको मुख्य बजार काठमाडौं हो ।
काभ्रेमा उत्पादित फुल एक घण्टाभित्र काठमाडौंको बजारमा पुर्याउन सकिने भएकाले यो क्षेत्र पुष्प व्यवसायीका लागि उपयुक्त थलो बन्न सक्ने तिमल्सिना बताउँछन् । अझ पुष्प निर्यातका लागि उपयुक्त वातावरण बनाउन सकेमा विदेशमा पनि त्यसको ठूलो माग रहेको उनले बताए । पछिल्लो समय काभ्रेका अन्य कृषकले समेत यस व्यवसायमा लाग्ने इच्छा देखाएका छन् । उनीहरूलाई आफुले सक्दो सहयोग गरिरहेको उनी बताउँछन् । काठमाडौं उपत्यकामा खाद्यान्न, दूध तथा तरकारी आपूर्ति गरिरहेको काभ्रेले फुलको मागलाई पनि सम्बोधन गर्न सक्ने उनले आशा लिएका छन् ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.