विद्यालयमा विद्युतीय पुस्तकालय स्थापनाका लागि अनुरोधसहित प्राचार्यले फेसबूकमा पोष्ट गरे । उनले गरेको एउटा पोष्टकै माध्यमबाट पर्वतको एक विद्यालयमा विद्युतीय पुस्तकालय सञ्चालनका लागि सहयोग सङ्कलन भएको छ ।
पर्वतको तिलहारस्थित नवजागृत उच्चमाविका प्राचार्य विष्णुप्रसाद सुवेदीले गरेको अपीलका आधारमा विद्युतीय पुस्तकालय स्थापना भएको हो । उक्त सहयोग इटालीमा रहेका विद्यालयका भूतपूर्व विद्यार्थी नगेन्द्र खत्री र तिलहार गाविसका जन्मेका गैरआवासीय नेपाली सङ्घ इटालीका अध्यक्ष अनिल भट्टराईले सङ्कलन गरेका हुन् । उनीहरूको पहलमा विद्यालयलाई गैरआवासीय नेपाली सङ्घ इटालीले सहयोग गरेको हो । सङ्घले विद्यालयका लागि एक थान कम्युटर र २ लाख १० हजार नगद हस्तान्तरण गरेको प्राचार्य सुवेदीले जानकारी दिए । साथै, थप कम्युटर र नगद सहयोग सङ्कलन गरी सहयोग गर्ने इच्छा राखेको सुवेदीले बताए । ‘अहिले सहयोगको शुरुआत भएको छ,’ उनले भने, ‘भविष्यमा थप सहयोग पाउने आश्वासन पाएका छौं ।’
आफूले पढेको र गाउँको विद्यालयका लागि सहयोगको अपील फेसबूकमा देखेपछि सहयोग सङ्कलन गर्न थालेको एनआरएन इटालीका अध्यक्ष भट्टराईले बताए ।