विनय कामथ र श्रवन्थी छल्लापल्ली
गुरुचरण दासले आफ्नो नयाँ कृतिको नाम ‘इण्डिया ग्रोज एट नाइट’ राखेका छन् । आफु एउटा घटनाबाट अभिप्रेरित भएर पुस्तकको यस्तो नाम जुराएको उनको कथन छ । भारतमा लगानी गरेको उनको एक जना चिनियाँ साथीले हरियाणा राज्यका गाउँका सडकको दुरवस्था देखेपछि प्रश्न गरेछन्, ‘यस्तै खालको पूर्वाधारले भारत तीव्र आर्थिक वृद्धि गर्ने विश्वकै दोस्रो मुलुक कसरी बन्यो हँ ?’ दासले मित्रलाई बाङ्गो उत्तर दिए, ‘भारतीय सरकार राति सुत्छ । त्यसै बेला मुलुक अगाडि बढ्छ ।’
आमभारतीय मनोभावनाको व्याख्या गर्दै उनले पुस्तकको भूमिकामा भनेका छन्, ‘पुस्तकको नाम त्यस्तो राख्नु साँच्चिकै ‘अपमानजनक’ नै थियो ।’ राज्य जे जस्तो तरीकाले चले पनि आर्थिक उदारीकरणपछिको पछिल्लो २० वर्षमा भारतले आश्चर्यलाग्दो प्रगति गरेको छ । र, त्यसले भारतीय जनतालाई दिएको गरिमा र आत्मसम्मानले निकै शक्तिशाली प्रभाव पनि छोडेको छ । कल्पना गरौं त यदि बलियो र उदार सरकारले त्यो वृद्धिलाई सहजीकरण गरेको भए कत्ति उत्तम हुन्थ्यो होला ? – दासको नयाँ पुस्तकले यहीप्रश्नको उत्तर खोज्ने प्रयास गरेको छ ।
सरकारविनै भारतले तीव्र प्रगति गरेको कुरालाई उनको पुस्तकमा मुख्यरूपले उठाइएको छ । भारत ऐतिहासिक रुपमै बलियो समाज र कमजोर सरकारका रूपमा रहेको उनको ठम्याइ छ । त्यतिबेला राज्यभन्दा धर्म अघि रहेकाले राज्य प्रमुखको मुख्य दायित्व नै धर्मको संरक्षण गर्नु रहेको तर्क उनले गरेका छन् । ‘भारतले दिनमा पनि प्रगति गर्नुपर्छ भन्ने मेरो भनाइ हो । त्यसैले पुस्तकमा मैले निजीक्षेत्रको सफलता र सार्वजनिक क्षेत्रको असफलताको कथा बुनेको छु,’ पेन्गुइनद्वारा प्रकाशित पुस्तकको चेन्नईमा आयोजित सार्वजनिक कार्यक्रममा बोल्दै उनले भनेका थिए । उनका अनुसार राज्य तीन खम्बामा अडेको हुनुपर्छ : आवश्यकता परेको बेला काम गर्न सक्ने निर्णायक र दृढप्रतिज्ञा सरकार, सरकारका कानूनसम्मत कार्य र जनताप्रतिको जवाफदेहिता । उनी भन्छन्, ‘यी तीनै तत्वलाई मिलाउन त्यत्ति सजिलो छैन किनकि तिनीहरू अक्सर गरेर एकअर्काका विरुद्ध काम गर्छन् । अन्ना हजारेको अभियानमा हामीले त्यसको प्रत्यक्ष अनुभव गरिसकेका छौं ।’
त्यसो भए प्रश्न उठ्न सक्छ, जब सबै कुरा आफै व्यवस्थित भइरहेको छ भने सरकारले त्यसबाट हात झिके हुन्न र ? कुनै पनि मुलुकको आर्थिक समृद्धिका लागि सरकारको आवश्यकता हुन्छ । र, आर्थिक समृद्धिलाई सहज बनाउन उपयुक्त नीतिनियम र कानूनको आवश्यकता पर्छ, जसको प्रत्याभूति गर्ने जिम्मा राज्यको हो । त्यस्तै जीवन र स्वतन्त्रताको रक्षाका लागि पनि राज्यको विकल्प देखिएको छैन । धेरै संस्था पतन भए पनि जनताका लागि राम्रो काम गरेकाहरू अझै उल्लेख्य मात्रामा छन् । ‘टीएन सेशनपछिको निर्वाचन आयोगलाई नै हेरौं । सेक्युरिटी बोर्ड अफ इण्डिया र रिजर्भ बैङ्क अफ इण्डिया राम्रा नियामक हुन् । त्यस्तै पहिलो भारतीय दूरसञ्चार नियामक प्राधिकरणले पनि गज्जबको काम गरेको थियो,’ दास भन्छन्, ‘त्यसले भारतमा दूरसञ्चार क्रान्ति ल्याउन ठूलो भूमिका खेलेको छ । तत्कालीन प्रधानमन्त्री अटलविहारी बाजपेयीको सहयोगले पनि दूरसञ्चार क्रान्ति सम्भव बनेको हो । अन्यथा त्यस क्षेत्रमा निजीक्षेत्रको प्रतिस्पर्धा असम्भवजस्तै हुने थियो ।’
तर, बलियो राज्य भनेर आफुले तानाशाही सरकारको कल्पना नगरेको उनी बताउँछन् । आफुले सिङ्गापुरको जस्तो उच्च तहको सुशासन भएको तर स्वतन्त्र समाज नभएको राज्यको वकालत पनि नगरेको उनको भनाइ छ । उनी चीन र भारतको उदाहरण दिन्छन् । भारतको इतिहास प्रतिस्पर्धी राजतन्त्रात्मक राज्य र राजनीतिक विखण्डनको हो भने चीनको साम्राज्यको हो । चार भारतीय साम्राज्य – मौर्य, गुप्त, मुगल र ब्रिटिश सबै चीनको सबैभन्दा कमजोर साम्राज्यभन्दा पनि कमजोर रहेका थिए । ‘चीनमा सम्राट्ले नै कानूनको निर्माण र व्याख्या गथ्र्यो । तर, भारतमा भने राजाभन्दा माथि धर्म थियो र राजाको काम जनताको हितमा धर्मका मान्यताहरू पालन गर्नु थियो । यहाँ धर्मको व्याख्याता चीनको जस्तै सम्राट् नभई ब्राहमण हुन्थ्यो । ५०० देखि ६०० ईशापूर्वमा भारतमा पहिलो राज्य निर्माण भएको थियो । त्यसै बेलादेखि शक्तिको विभाजन भयो जसले राज्यलाई कमजोर बनाइरह्यो ।’
त्यसैले एउटा चिनियाँ नागरिक राज्यले चाहे जस्तै बन्ने उनको भनाइ छ । भारतमा दमन चीनमा जस्तै राज्यबाट भएको होइन, समाज र यहाँभएको वर्ग विभेदबाट भएको हो । तर, दास नयाँ मध्यम वर्गमा ठूलो सम्भावना देख्छन् । यो वर्ग आफ्नै सङ्घर्षबाट अघि बढेको र औपनिवेशिक मानसिकताबाट पनि मुक्त भएको उनको तर्क छ । आफ्नो पुस्तकले समस्या समाधानका उपाय प्रस्तुत गरेको दाबी उनी गर्दैनन् । तर, सबै राजनीतिक दलहरू सुधारका लागि प्रतिबद्ध भएर धर्मनिरपेक्ष र उदार राज्य निर्माणमा लाग्ने हो भने धेरै समस्याको समाधान हुने उनको धारणा छ । त्यसका लागि सुशासनको पनि उत्तिकै आवश्यकता छ । नभए जनताहरू आफ्नै गाउँ, टोलमै भ्रष्टाचारविरुद्ध लड्न सक्छन् । उनी भन्छन्, ‘धेरै पर्दैन, हप्ताको १ घण्टा दिए पुग्छ ।’
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.