मध्यपश्चिमका पाँच जिल्लाका थारू जातिको परम्परा झल्काउने गरी निर्माण गरिएको एकमात्र थारू सङ्ग्रहालयमा दैनिक १० देखि १५ जना स्वदेशी तथा विदेशी पर्यटक अवलोकन गर्न आउने गरेका छन्। तर, आर्थिक अभावकै कारण एकजना कर्मचारीसम्म राख्न नसक्दा सङ्ग्रहालय व्यवस्थित हुन सकेको छैन। थारू संस्कृतिको संरक्षण गर्ने उद्देश्यले स्थापना भएको दाङको थारू सङ्ग्रहालय आर्थिक अभावका कारण सङ्कटापन्न अवस्थामा पुगेको छ । स्थापनाको पहिलो चरणमा सबै क्षेत्रबाट आर्थिक सहयोग पाए पनि हाल कुनै निकायबाट सहयोग नपाउँदा यस्तो अवस्था आएको सङ्ग्रहालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद चौधरीले जानकारी दिए ।
उनका अनुसार सङ्ग्रहालय स्थापना गर्दा जिल्ला विकास समितिले रू. ६० हजार र जिल्लामा क्रियाशील विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरूबाट गरी जम्मा रू. ८ लाख सहयोग प्राप्त भएको थियो । ‘अहिले ती सङ्घसंस्थाबाट सहयोग आउन छाड्यो,’ उनले भने ।
‘हालको आयस्रोत भनेको सङ्ग्रहालय अवलोकनमा आउनेहरूबाट लिइने न्यूनतम शुल्क हो,’ उनले भने । अवलोकन गर्न विद्यार्थीका लागि रू. ५ र अन्य स्वदेशी तथा विदेशी पर्यटकका लागि प्रतिव्यक्ति रू. २० शुल्क निर्धारण गरिएको छ ।
लोपोन्मुख परम्परागत थारू संस्कृति जगेर्ना गर्ने उद्देश्यले २०६६ सालमा घोराही नगरपालिका–२ पनौरामा ‘गुम्राह थारू सांस्कृतिक सङ्ग्रहालय’को स्थापना भएको हो । सङ्ग्रहालयमा थारू जातिको संस्कृति झल्कने काठबाट निर्माण गरिएका विभिन्न तस्वीर, थारू जातिका वेषभूषा (भेग्वा, चौबन्दी, पौवा, टोपी) राखिएका छन् । थारू जातिले प्रयोग गर्ने विभिन्न किसिमका हलो, जुवा, काठका चप्पल, माटाका भाँडालगायत ३ सयभन्दा बढी आकर्षक वस्तु सङ्ग्रहालयमा सङ्ग्रहित छन् । ती सामग्रीले दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा लामो समयदेखि बसोवास गर्दै आएका आदिवासी थारू जातिको संस्कृति झल्काउने अध्यक्ष चौधरीको भनाइ छ ।
सङ्ग्रहालयमा अमेरिका, बेलायतलगायत मुलुकबाट नेपाली थारू संस्कृतिको अध्ययन गर्न आउने गरेका छन् । उचित व्यवस्थापन र प्रचारप्रसार गर्न सक्ने हो भने सङ्ग्रहालय र यस आसपासका क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने स्थानीयवासी तथा पर्यटन व्यवसायीहरू बताउँछन् ।
हाल सङ्ग्रहालय अवलोकन गर्न दैनिक १० देखि १५ जना स्वदेशी तथा विदेशी पर्यटक आउने गरेको व्यवस्थापन समितिले जानकारी दिएको छ । तर, आर्थिक अभावकै कारण एकजना कर्मचारीसम्म राख्न नसक्दा सङ्ग्रहालय व्यवस्थित हुन नसकेको अध्यक्ष चौधरीले बताए । यो दाङ जिल्लाको मात्रै नभई मध्यपश्चिमका पाँचै जिल्लाका थारू जातिको परम्परा झल्काउने गरी निर्माण गरिएको एक मात्र थारू सङ्ग्रहालय हो ।
यस्तो सङ्ग्रहालय आर्थिक अभावका कारण सङ्कटमा पर्नु लाजमर्दो विषय भएको थारू बुद्धिजीवी एवम् थारू कल्याणकारिणी सभा दाङका अध्यक्ष चन्द्रप्रसाद चौधरीले बताए । ‘राज्यले आदिवासी जनजातिलाई सबै क्षेत्रमा विशेषाधिकार दिने भनिरहेको बेला देशकै एक महत्वपूर्ण सांस्कृतिक पहिचान झल्काउने सङ्ग्रहालय सङ्कटापन्न अवस्थामा पुग्नु निकै दुःखदायी अवस्था हो’, उनले भने । यसलाई संरक्षण गर्न र पर्यटकीय सङ्ग्रहालयका रूपमा विकास गर्न सकिने स्थानीय पर्यटन व्यवसायीहरूको भनाइ छ ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.